अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन

गण्डकी, १ कात्तिक (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उहाँले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गर्नुभयो ।
“जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।”

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताउनुभयो । “नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।”

प्रधानमन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिनुभयो । उहाँले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्च गरिने जानकारी पनि दिनुभयो ।

footwear zone

“गत साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनः निर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट मुस्ताङको जनजीवन, कृषि, उत्पादन, पर्यटन र समग्र व्यवसायमा पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्नेमा नेपाल सरकार गम्भीर ढङ्ग रुपमा लागेको छ ।”

प्रधानमन्त्री दाहालले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको धारणा राख्नुभयो । आज मुस्ताङ आउनुभएका उहाँले आजै बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको हवाई अवलोकन गर्नुभएको थियो ।
रामबहादुर थापा / रासस

You might also like

Comments are closed.