काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ ।
कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित आइएमईमा आवेदन दिन सक्नेछन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कात्तिक मसान्तसम्म आवेदन दिन सक्न बताइएको छ ।
‘रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ ।’ आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभसाइटहरू मार्फत सोमबार आह्वान पत्र पनि जारी गरेको छ ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले यस वर्ष पर्व लक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौं ।’




Comments are closed.