काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ लिमिटेडसंग सम्झौता गरेको छ । सम्झौतासँगै उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था बैंकले गरेको छ ।
विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक एनएमबि बन्न सफल भएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘टेन्सेन्ट होल्डिङसँगको साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
१ दशमलव १७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये विच्याट भुक्तानी प्रणाली सञ्चालनका लागि टेन्सेन्ट होल्डिङ लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस भएको बैंकले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनीछ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनी छ । ‘देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट चिनियाँ पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने छ ।’
चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउन समेत सहयोग पुग्नेछ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई विदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्ने बैंकले जनाएको छ ।
‘एनएमबि बैंक लि. र टेन्सेन्ट होल्डिङका बीचमा भएको साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा बैंक विश्वस्त छ,’ विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङको परिदृश्य बदल्दै ग्राहकलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको बैंकले जनाएको छ ।




Comments are closed.