कीरा लागेर सुन्तला झर्न थालेपछि किसान चिन्तित

तोलाकान्त बगाले/वालिङ । फल टिप्ने बेलामा औँसा कीराको प्रकोपले सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले निकै राम्रो मानिएको स्याङ्जामा यस वर्ष औँसा कीराको प्रकोप देखिएपछि किसान चिन्तामा परेका हुन् ।

मेहेनत गरेर उत्पादन लिने बेलामा आइपुग्दा सुन्तलामा औँसा कीरा परेर झर्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग माग गरेको पुतलीबजार–१० सुम्रेखोलाका सुन्तला व्यवसायी विष्णु अर्यालले बताए । गत वर्ष पनि सुन्तलामा औँसा कीराको प्रकोप देखिएको तर यति बढी नभएको व्यवसायी अर्यालले बताए । यस वर्ष झण्डै १५ देखि २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोपकै कारण सुन्तला बोटबाट झरेको हो ।

एकाएक बोटबाट सुन्तला झरेर क्षति हुन थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जा र कृषि ज्ञान केन्द्र स्याङ्जामा सम्पर्क गरेको व्यवसायी अर्यालले बताए ।

footwear zone

“गत वर्षको तुलनामा यस वर्ष सुन्तला यसै पनि कम फलेको थियो”, उनले भने, “झनै त्यसैमाथि बाक्लै बोटमा औँसा कीराको प्रकोप देखियो र सुन्तला झर्न थाल्यो ।” अर्यालको सुन्तला बगैँचामा ९५० वटा सुन्तलाका बोट रहे पनि हाल ६५० वटा बोटमा सुन्तला छ । सुन्तला झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । “किरा लागेर गेडो छिट्टै झरेको छ”, उनले भने, “कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।” बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताए । उनले वर्षेनी रु ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्छन् ।

जिल्लाका ११ स्थानीय तहमध्ये सबै ठाउँमा व्यवासायिक वा घरायसी प्रयोजनका लागि सुन्तला, कागती, मौसमलगायत अमिलो जातका फलफूल उत्पादन हुने गरेको छ । विशेषगरी औँसा कीराले पुतलीबजार नगरपालिकाको वडा नं १०, ११, अर्जुनचौपारी गाउँपालिका–१ लगायतका क्षेत्रमा रहेका सुन्तला बगैँचामा तुलनात्मकरूपमा बढी क्षति पु¥याएकाले किसानको सुन्तला बगैँचाको अनुगमन तथा निरीक्षण अभियान थालिएको सुपरजोनका प्रमुख माधवप्रसाद लम्सालले बताए ।

“किसानले क्षतिको गुनासो गर्न थाल्नुभएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि किसानकै सुन्तला बगैँचामा पुगेर विधि सिकाउनका लागि ‘सचेतना अभियान’ थालेका छौँ”, उनले भने, “यो अभियानलाई जिल्लाका सुन्तला उत्पादन हुने सबै ठाउँमा पु¥याउने छौँ ।” औँसा कीराको प्रकोपका कारण बोटबाट फल झर्न थालेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि झरेका फललाई प्लाष्टिकमा बाँधेर एक हप्तासम्म राख्नुपर्ने सुझाव दिइएको प्रमुख लम्सालले बताए ।

“कार्यालयबाट किसानलाई प्लाष्टिक उपलब्ध गराएका छौँ उहाँहरुले झरेको फललाई प्लाष्टिकमा बाँधेर राख्नुहुन्छ”, प्रमुख लम्सालले भने, “एक हप्तापछि उक्त कीरा मर्ने भएकाले त्यसलाई खाडल खनेर जमिनभित्र झरेको फललाई यत्तिकै छाडेमा अर्को वर्ष झनै बढी बोटमा क्षति हुने भएकाले किसानलाई सचेतना अपनाउन आग्रह गर्दै आएको उनले बताए ।

किसानको गुनासो आएका÷नआएका सबै ठाउँमा पुगेर यस रोगका बारेमा किसानलाई अपनाउनुपर्ने उपायका बारेमा जानकारी गराउने गरी अभियानकै रूपमा सुरु गरिसकेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

कुनै ठाउँमा रहेका सुन्तला बगैँचामा बढी र कुनै ठाउँका सुन्तला बगैँचामा औँसा कीराको प्रकोप घटी÷बढी रहेको सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका संयोजक तारा अर्यालले बताए । “पहिलो चरणमा किसानलाई झरेका फलमा रहेका कीरा नियन्त्रणमा लिनका लागि प्लाष्टिक उपलब्ध गराएका छौं”, उनले भने, “जेठ लागेपछि औषधि छर्ने व्यवस्था मिलाइने छ ।”

 

You might also like

Comments are closed.