गाउँ विकासको पखाईमा बोटे समुदाय

लमजुङ ।माहिन्द्रीगङ्गा (मादी नदी) को किनारमा अवस्थित बोटेटारका आफ्नो उमेरसमेत भन्न नसक्ने वृद्ध पूर्णबहादुर बोटेको ‘फेरिएको बोटेगाउँ’ हेर्ने सपना कहिल्यै पूरा हुन सकेन । उनको सपना थियो–छोरानातिको कमाइ गर्ने मेलो, पढे–लेखेका नातिनातिना, स्वस्थ गाउँले, गाउँवरिपरि मोटर गुड्ने सडक अनि सफासुग्घर बोटे गाउँ । धेरै वर्षदेखिको वृद्ध बोटेको सपनाका दृश्य केही परिवर्तन भए पनि पूर्णरूपमा अझै परिवर्तन भएको छैन ।

समयक्रम सँगै गाउँ–गाउँमा परिवर्तन भए पनि मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेस्थित बोटेगाउँमा भने विकास हुन नसक्दा पूर्णबहादुर जस्तै धेरै स्थानीयवासीको सपना अधूरै हुन पुगेको हो । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा र व्यवसाय हो । वारि लमजुङ पारि तनहुँ र कास्की बीचमा मादी नदी । विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका बासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाटलगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएको वृद्ध बोटेले बताए । उनका अनुसार गाउँका १२ जना बोटेहरुले मादीमा डुङ्गा तार्ने र सोही आम्दानी बाँडीचुँडी लिएर घर व्यवहार चल्थ्यो । दुईपिप्ले, रम्घा, सिसाघाट भेगमा नियमित वारपार गर्ने स्थानीयवासीले बाटे समुदायलाई वर्षको एकपटक प्रत्येक परिवारले धुरीपाथी अन्न बुझाउने र त्यसबाहेकले डुङ्गा तारेपछि पैसा दिने चलन थियो ।

करिब ३० घर परिवारको बसोबास रहेको बोटेगाउँमा स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत क्षेत्रमा समयसापेक्ष विकास नभएको ४६ वर्षीय हेविन्द्र बोटेले बताए । देशमा राजनीतिक परिवर्तनसँगै धेरै विकास भए पनि आफ्नो बस्तीमा विकास आइनपुगेको र गाउँको विकासको पखाइमा रहेको उले बताए। गाउँमा ११÷१२ पढ्ने युवायुवती निकै कम छन् । सरकारी सेवा अन्तर्गत सेना, प्रहरीमा केही भए पनि निजामति कर्मचारी कोही छैनन् । केही पढेकाहरुले राम्रो जागिर नपाएकाले पनि नयाँ पुस्ता युवायुवती पढाइप्रति उतिसाह्रै आकर्षित नभएको निर्मला बोटे बताउछन् । “कमाउन सक्ने, पढेका नपढेका सबै विदेशतिर गैसके”, उनि भन्छन्, “देशमा बसेर काम पाइँदैन, विदेश नगएर कसरी परिवार पाल्नु ”

footwear zone

एक दशकअघि सिसाघाटमा झोलुङ्गे पुल निर्माण गरिएपछि डुङ्गा तार्ने बोटे समुदायको पुख्र्यौली पेशा हराएको ५१ वर्षीय हर्के बोटेले बताए । त्यस्तै खोलामा जाल हान्ने, बल्छी थाप्ने, दुवाली थुन्ने जस्ता उपायले माछा मार्दै आम्दानी गर्दै आएकोमा पछिल्लो समय लुकीछिपी करेन्ट हान्ने, विषादी हाल्ने र विष्फोटक पदार्थ पड्काएर माछा सखाप बनाइदिएपछि बोटे समुदायकोे आम्दानीको अर्को स्रोत पनि गुमेको उनको भनाइ थियो । डुङ्गा तार्ने र माछा मार्ने भएकै कारण बोटेहरुलाई ‘पानीपति’ समेत भन्ने गरिन्छ । यी ‘पानीपति’हरुको पानीसँग जोडिएको आम्दानीको दुईवटै पुख्र्यौली पेशा गुमेपछि मेलापात, खेतीपाती गरेरै जीवनयापन गर्नुपरेको र ऋण काढेरै खानु पर्ने बाध्यता थपिएको स्थानीयवासी बताउँछन् ।

धेरै वर्षदेखि बसोबास गर्दै आएकाले बोटेहरु आदिवासी नै भएको बोटेहरुको बुझाइ छ । गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिनसमेत बिक्री गरिसकेको इन्द्रमायाले बताईन् । “भएको जग्गा जमिन बिक्री भइसक्यो, साहुको ऋण तिर्ने र भात खानेभन्दा अन्त काम लागेन”, उनले भनिन् ।

अशिक्षा र गरिबीकै कारणले पुख्र्यौलीरूपमा निकै सम्पन्न भए पनि यतिबेला उनीहरु विपन्न बन्न पुगेको मध्यनेपालका उपप्रमुख राजकुमार श्रेष्ठले बताए । उनले भने, “उनीहरुका लागि तीन वटै सरकार बोटे समुदायको विकासमा लागिरहेको र बिस्तारै बोटे गाउँको विकास हुन थालेको छ । गत वर्ष प्रदेश सरकारले आवास निर्माण गरिदिएको छ, घरघरमै धारा जडान गरिएको छ । उचित शिक्षा नपाउँदा बस्तीमा चेतनास्तर समेत माथि उकासिन नसकेको र शिक्षा नै नभएकाले स्वास्थ्य, सरसफाइ, रोजगारी जस्ता क्षेत्रमा पनि सुधार नभएको निरा बोटेले बताईन्। उनले भनिन्, “हामी दशैँ मनाउनसमेत अरुको भर पर्नुपर्ने अवस्थामा आइपुग्यौँ ।”

You might also like

Comments are closed.