काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त भएका छन् ।
शनिबार गरिएको स्वाव परीक्षणको रिपोर्ट आइतबार नेगेटिभ आएको ढकालले जानकारी दिए । कोरोना संक्रमण भएपछि ढकाल होम आइसोलेनमा बसेका थिए ।
असोज १२ गते ढकाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना मुक्त भएपछि ढकालले सम्पूर्ण शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले भनेका छन्, ‘हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु । यो दुई हप्ताको अवधिमा मेरो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी मलाई स्वास्थ्यलाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका आदरणीय महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी साथीहरु एवं सबैप्रति कृतज्ञ छु । यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु । यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा तपाईंहरु सबैप्रति क्षमाप्रार्थी छु । महामारीको अहिलेको अवस्थामा स्वदेश तथा संसारभरि रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहनुहोस् भनी कामना पनि गर्दछु । साथै संक्रमित भइ उपचार गराइरहनुभएका सबैमा मेरो शीघ्र स्वास्थ्य लाभको कामना छ । यस क्षणमा म मेरो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीज्यूहरु, मेरो परिवारका सदस्य तथा आफन्तजनहरुको सहयोगको सराहना गर्दै सबैप्रति मेरो सधन्यवाद हार्दिक नमन छ ।’




Comments are closed.