बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य पाएन, किसान समस्यामा

भोजपुर । बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्या परेका हुन् । उत्पादन भने राम्रै भइरहेको छ । विगत वर्षमा प्रतिमन २० देखि २५ हजार रुपैयाँमा चिराइतो बिक्री गर्दै आएका यहाँका कृषक यस वर्ष प्रतिमन ६ हजार रपैयाँमा बिक्री गर्न बाध्य भए ।

स्थानीय कृषक एकराज विष्टले भने, “बाह्र रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु । मूल्य वर्षेर्नी बृद्धि हुनु अलवा घटीरहेको छ । उत्पादन त राम्रो छ तर बजारीकरणमा समस्या छ ।” परिवारसँग बसेर आफ्नै ठाउँमा गरिने खेती भएकोले विदेशमा दुःख गर्नुभन्दा हाल पाउने गरेको मूल्यमै चित्त बुझाएर काम गरिरहेको विष्टको भनाइ छ । निरन्तर खेती गरी रहेकोले एक न एक दिन राम्रो मूल्य पाउनेमा उनि आशावादी छन् । “मेहनत अनुसारको मूल्य त छैन, तर अहिले पाएको मूल्य अन्य बालीको तुलनामा ठिकै छ”, विष्टले भने ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका मार्ने, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय कृषका देवबहादुर विष्टले बताए । चिराइतो बहुउपयोगी जडीबुटी हुनाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको भनाइ छ । कृषक विष्टले भने, “यसको महत्व धेरै छ, पछिल्लो समय हाम्रो ठाउँका धेरै साथीले व्यावसायिक खेती गरिरहनु भएको छ, सोचे जस्तो मूल्य नपाए पनि विदेशमा गएर दुःख गर्नुभन्दा यो आम्दानी पनि राम्रै छ ।”

footwear zone

कृषकले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन ६ हजार रुपैयाँले बिक्री हुने गरेको छ । मनको थोरै मूल्य भए पनि अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन् । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने कृषक बताउँछन् । कृषक पदम बस्नेतले भने, “हाम्रो ठाउँमा धेरै कृषक यसको खेतीमा आवद्ध छौं, उत्पादन पनि राम्रो छ, यसको बजारीकरणको लागि सरकारको तर्फबाट साथ भए हामीलाई राहत हुने थियो ।”

विशेष गरेर एक हजार ५०० माथिको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन बन कार्यालय भोजपुरको भनाइ छ । कार्यालयले पनि यस्ता ठाउँका छनोट गरेर चिराइतो खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।

You might also like

Comments are closed.