जागौं पोखरा अभियान टोलीद्वारा केसीको पक्षमा प्रदर्शन

 

पोखरा ।जागौं पोखरा अभियान टोलीले १९ औं पटक सत्याग्रहमा बसेका डा.केसीका माग पूरा गर्न माग गर्दै पोखरामा आईतबार प्रदर्शन गरेको छ । डा.केसीका समर्थकहरुले दैनिक रुपमा पोखराका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका हुन् । ‘जागौं पोखरा अभियान’को नेतृत्वमा पोखरामा केसी समर्थनमा प्रदर्शन जारी राखिएको संयोजक शिरिष गुरुङले बताइन् ।

प्रदर्शनका दिनहरु थपिदै जाँदा प्रदर्शन थप चर्काउँदै लगिएको छ । शुरुमा मौन प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पछिल्ला दिनमा भने नारा, जुलुशसमेत गर्न थालेका छन् । प्रदर्शनको पाचौं दिन आईतबार केसीका समर्थकहरुले थाल, नाङ्लो ठटाउँदै नाराबाजीसमेत गरे ।

footwear zone

पोखराका विभिन्न चोकहरुमा कहिले उभिएर त कहिले ¥याली निकालेर प्रदर्शनकारीहरुले केसीका माग पूरा गर्न दवाब दिदै आएका छन् । प्रदर्शनकारीहरुले प्रदर्शनको तरिकासँगै ठाउँपनि दैनिक रुपमा परिवर्तन गर्दै आएका छन् । आईतबार भने पोखराको सभागृहचोकबाट मानवअधिकारचोक चिप्लेढुंगासम्म प्रदर्शन गरेका थिए । आईतबारको प्रदर्शनमा उनीहरुले ब्यानर, प्लेकार्ड बोकेर प्रदर्शन गर्नुका साथै थाल ठटाउँदै शंखसमेत बजाए । ‘सुतिरहेका जनता र निदाईरहेको सरकारलाई जगाउनका लागि हामीले फरक÷फरक तरिका अप्नाएका हौं’–संयोजक गुरुङले भनिन् ।

केसीको माग जायज भएकाले उनको समर्थनमा प्रदर्शन गरिएको संयोजक गुरुङले बताईन् । डा.केसीका मागहरु एकदम जायज छन्,‘उनले भनिन्,‘त्यहि भएर ति मागहरु पूरा गर्नका लागि दवाब दिन हामी सडकमा आएका हौं ।’

मेडिकल माफियाको अन्त्य गर्ने, शिक्षा र स्वास्थ्य सुलभ हुनुपर्छ भन्ने माग नेपाल र नेपालीको लागि अपरिहार्य भएको उनको भनाई छ ।

‘जागौं पोखरा अभियान’ले दवाबमूलक प्रदर्शन जारी राख्ने जनाएको छ । ‘डा.केसीका माग जबसम्म पूरा हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ’–उनले भनिन् ।

‘जागौं पोखरा अभियान’ सामाजिक विकृति, विसंगतिका बिरुद्ध आवाज उठाउने संस्था हो । साथै यसले विकासमा जनसहभागिता हुनुपर्छ भन्दै आफैपनि पोखराका सडकमा रहेका खाल्डाखुल्डी पुर्नेलगायतका कार्यलाई अभियानकै रुपमापनि अगाडि बढाउँदै आएको छ ।

You might also like

Comments are closed.