पोखरा, ३ बैशाख
पोखराका प्रतिष्ठित व्यापारी बिपेन्द्रराज बतास (बिपीन)बिरुद्ध समाचार लेखेको आरोपमा पक्राउ परेका पत्रकार अर्जुन गिरीलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ । बतासले साइबर अपराध अन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा मुद्धा दर्ता गरेपछि गिरीलाई प्रहरीले पोखराबाट सोमबार पक्राउ गरेको थियो । पक्राउ गरेर काठमाडौं पु¥याएको प्रहरीले सोमबार अपराह्न पत्रकार महासंघको रोहवरमा छाडेपनि मंगलबार पुनः अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरीकै नियन्त्रणमा राखेको छ । प्रहरीले गिरीलाई मंगलबार अपराह्न हतकडीसमेत लगाएर राखेको बताइएको छ ।
यसैबीच, पत्रकार गिरीलाई अपराधीजस्तो ब्यबहार गरेको भन्दै पत्रकार संघसंस्थाहरुले बिरोध जनाएका छन् । उनीहरुले पत्रकार गिरीको केस प्रेस काउन्सिलमार्फत हेरिनुपर्नेमा जोड दिएका छन् ।

पक्राउ परेका गिरी ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक हुन् भने साविक प्रेस चौतारी कास्कीका सचिव हुन् । गिरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको निवेदनका आधारमा ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकममा बतासबिरुद्ध समाचार लेखेका थिए । पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी ब्यबसायी मनोज श्रेष्ठ र जनकराज पहारीले बतासले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । सोहि निवेदनका आधारमा पीडित द्वय श्रेष्ठ र पहारीलाई उद्धृत गर्दै गिरीले समाचार लेखेका थिए । समाचारमा बतासले श्रेष्ठको १ करोड ९८ लाख र पहारीको २ करोड २५ लाख ठगि गरेको उल्लेख छ ।
सोहि समाचारलाई लिएर बतासले आफ्नो मान हानी भएको भन्दै जिल्ला अदालत काठमाडौंमा साइबर क्राइमको मुद्धा दर्ता गरेका थिए । बतासले ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकम दर्ता नगरी सञ्चालन गर्दै आएको दाबी गरेका छन् । प्रेस काउन्सिलले भने ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकम दर्ता भएको बताइसकेको छ । यसअघी काउन्सिलको गल्तीले ताण्डव न्यूज हुनुपर्नेमा ताण्डन न्यूज भनेर प्रेस काउन्सिलका कर्मचारीले बिगारिदिएपछि दर्ता नै नभएको भन्दै गिरीलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाउने तयारी भएको थियो । यस बिचमा प्रेस काउन्सिलले गल्ती सच्याउँदै मुद्दा प्रेस काउन्सिलमा आउनुपर्ने बताइसकेको छ । प्रेस काउन्सिलको आग्रहका बाबजुद प्रहरीले अटेर गरेपछि पत्रकार गिरीले भने सास्ती बेहोर्नुपरेको छ ।
यसैबीच, पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ कास्कीसहित कास्कीमा कृयाशिल विभिन्न पत्रकार संगठनहरुले गिरीको पक्राउको बिरोध गरेका छन् । विज्ञप्ती निकाल्नेमा नेपाल प्रेस संगठन कास्की, प्रेस यूनियन कास्की, नेपाल संसदीय पत्रकार समाज, रिपोर्टर्स क्लव कास्कीलगायतका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विज्ञप्ती निकालेर स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको बताएको छ । त्यस्तै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तीमा समाचारमा चित्त नबुझे समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्नेलगायतका बाटा हुँदाहुँदै झूठा मुद्धा लगाएर पत्रकारको कलम बन्द गराउने प्रयास भएको भन्दै सो कार्यको भत्र्सना गरेका छन् । साथै पक्राउ परेका गिरीलाई अविलम्व रिहाई गरी स्वतन्त्र रुपमा कलम चलाउने वातावरण सृजना गर्न मागसमेत गरेका छन् ।
बतासबिरुद्ध पक्राउ पुर्जी जारी
यसैबीच, साइबर क्राइमको मुद्दा हाल्ने बतास अर्गनाइजेसनका सञ्चालक बिपेन्द्रराज बतासबिरुद्ध ठगीको उजुरी परेपछी कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बतासबिरुद्ध पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी ब्यबसायी मनोज श्रेष्ठ र जनकराज पहारीले बतासले ठगी गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि बतासलाई मंगलबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरेकाले अब बतासलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रवीन्द्रमान गुरुङले बताए ।




Comments are closed.