मजदूरलाई बचतमा जोड दिन ‘मजदूर सञ्चयकोष’ स्थापना

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराउने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

“ दैनिक रु ८०० देखि १ हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही पनि नहुने अवस्था आउने भएकाले बचतमा जोड दिनका लागि सो सञ्चयकोषको स्थापना गरिएको हो ।”

सञ्चय कोषका लागि पालिकाभित्रका १८ देखि ५९ वर्ष उमेर समूहका ज्याला मजदूरी गर्ने विपन्न मजदूरलाई लक्षित गरी सो सञ्चयकोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाले पालिकाभित्रका विपन्न मजदूरहरुलाई आ–आफ्नो वडामा सूचीकृत हुन सूचना जारी गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदूरलाई संलग्न गराई उनीहरुको नाममा बैंकमा खाता खोल्ने र सोही खातामा उनीहरुको ज्याला रकमबाट १५ प्रतिशत र पालिकाबाट १५ प्रतिशत सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष सुवेदीले बताए ।

footwear zone

नेपाल सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त भएको रु ५१ लाख रकमबाट पालिकामा सूचीकृत भएका विपन्न ज्यालादारीहरुलाई रोजगारीसहित सञ्चयकोषमार्फत रकम उपलब्ध गराइने भएको पालिकाका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक युवराज पौडेलले जानकारी दिए । “पालिकाभित्रका ज्याला मजदूरी गर्ने सूचीकृत भएका विपन्नलाई मात्रै यस कार्यविधिभित्र समावेश गरिने छ”, पौडेलले भने, “जसले गर्दा यहीँका मजदूरले विकास निर्माणका कार्यमा सहभागी हुनेछन् र बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।” सञ्चयकोषमा जम्मा भएको रकम एक वर्षपछि मात्रै निकाल्न सकिने व्यवस्था रहेको छ । सम्बन्धित वडाध्यक्षको सिफारिसमा दीर्घरोगी भएको खण्डमा, घर बनाउनुपर्ने देखिएमा, छोराछोरीको शिक्षा, स्वास्थ्य र व्यवसाय सञ्चालनका लागि उनीहरुले सञ्चयकोषबाट रकम निकाल्न सक्ने पौडेलले बताए ।

You might also like

Comments are closed.