पोखरा, १३ बैशाख ।
कास्कीको मादी गाउँपालिका वडा ५ मा लकडाउनबीच पनि स्वास्थ्यकर्मीसहितको टोलीले घरघरमा बिरामीको स्वास्थ्य जाँच गरेको छ । सो क्रममा निःशुल्क औषधि वितरण समेत गरिएको छ ।

चितेपानी ट्रष्टको आयोजना तथा मादी गाउँपालिका वडा ५ समितिको विपद् व्यवस्थापन सहयोगअन्तर्गत सो कार्यक्रम गरिएको जनप्रतिनिधि सरोज केसीले जानकारी दिए ।
लकडाउन कारण अस्पतालसम्म पुग्न नपाई औषधि सेवन गर्न नपाएका, असहाय, अशक्त र नियमित उपचारबाट वञ्चित सुन्पँदेली, चितेपानी, देउमाणी टोलका करिब ५६ जना बिरामीलाई सेवा दिइएको हो । लकडाउनका समयमा फरक शैलीमा दिइएको सो सेवा अति नै उपयोगी भएको सहभागीले प्रतिक्रिया दिए ।
मादी ५ का सबै नागरिकमा लक्षित सो कार्यक्रम पहिलो चरणमा सकिएको र तत्कालै अन्य टोलमा समेत बिरामी कति छन् भन्नेबारे डाटा संकलन गरी दोस्रो चरणको कार्यक्रम लिएर पुग्ने चितेपानी ट्रष्टका अध्यक्ष समाजसेवी एवं शिक्षासेवी टीकाराम सापकोटा बताए ।
घुम्ती शिविर संचालनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ डा. राजेश अधिकारी, वरिष्ठ डा. पद्म ढुंगाना, फार्मासिष्ट गणेश बराल लगायतले सेवा दिएका हुन् ।डा. अधिकारीले लकडाउनमा पनि गाउँमै पुगेर सेवा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार नियमित सेवा लिने सबैलाई औषधिसहित सेवा दिएको र पहिलो चरणको परीक्षणमा कुनै जटिल समस्या नरहेको जनाए ।
घुम्ती शिविरमा विभिन्न दल, सामुदायिक प्रहरी कालिका र समाजसेवीको उपस्थिति थियो ।




Comments are closed.