आर्थिक आवाज
पोखरा, १३ फागुन । पोखराको महेन्द्रपुलमा रहेको नोभा कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युट स्थापनाको १५औं वर्ष प्रवेश गरेको छ । संस्थाले आइतबार वार्षिकोत्सव मनाएकोछ । विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रमसहित केक काटेर वार्षिकोत्सव मनाइएको संस्थाका प्रवन्ध निर्देशक सवी शेरचनले जानकारी दिइन् ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि कम्प्युटर एसोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेश अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य चिन्तामणि बास्तोलाले महिलाको नेतृत्वमा सञ्चालित कम्प्युटर इन्स्टिच्युटले स्थापनादेखि राम्रो सेवा प्रदान गरिरहेको भन्दै प्रशंशा गरे । ‘महिला सक्षम भएमा घर र व्यवसाय दुवै क्षेत्रमा राम्रो प्रगति हुन्छ,’ उनले भने, ‘समाज परिवर्तनका लागि महिला उद्यमशीलताको वृद्धि आवश्यक छ ।’
इन्स्टिच्युटले १५ वर्षको अवधिमा हजारौं विद्यार्थीलाई कम्प्युटर तालिम दिइसकेको प्रवन्ध निर्देशक सवी शेरचनले जानकारी दिइन् । ‘१५ वर्ष अगाडि पोखरामा थोरै मात्र कम्प्युटर शिक्षा प्रदान गर्ने संस्था हुँदा हामीले सेवा सुरु गरेका थियौं,’ उनले भनिन्, ‘यहाँबाट धेरैले कम्प्युटरको आवश्यक ज्ञान तथा शिक्षा लिइ आत्मनिर्भर बनेका छन् ।’


संस्थामा कम्प्युटर शिक्षासँगै भाषा कक्षासमेत सञ्चालन भइरहेको छ । अँग्रेजी, जापानीज र कोरियन भाषाका कक्षाहरु सञ्चालन भइरहेको उनले बताइन् । संस्थाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासमेत प्रदान गरिरहेको छ । जापान र कोरिया जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिने उनले बताइन् । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन पश्चात नेपालमै फर्किएर काम गर्न प्रोत्साहन गर्दै आइरहेका छौैं,’ उनले भनिन् ।
कार्यक्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेल, महिला उद्यमी पवित्रा गुरुङ, कोरियन प्रशिक्षक राम गुरुङ, विद्यार्थीहरु किरन धरेल र सोनी थापा लगायतले बोलेका थिए । कार्यक्रममा जापानीज शिक्षक अञ्जु छन्त्यालले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम गर्दै आइरहेको छ । क्यान कास्कीसँगको सहकार्यमा गत वर्ष गृहिणी महिलाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरेको संस्थाले यस वर्ष दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम दिइरहेको छ ।





Comments are closed.