खाडीबाट फर्केर गाउँमा भैँसीपालन, मासिक १ लाखसम्म बचत

काठमाडौं । म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिएका छन्।

१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुंगानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुका साथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल भएका छन् ।

‘प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्ड घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्’, ढुङ्गानाले भने, ‘परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौँ ।’

footwear zone

स्वदेशमै सम्भावना देखेर गाउँ फकिएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामाभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए । आजभन्दा नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुङ्गानाको फर्ममा अहिले २२ भैंँसी र दुई होलिस्टेन जातका गाई छन् ।

ती भैँसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउँछन् । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक ७५ हजारदेखि १ लाखसम्मको आम्दानी हुने गरेको छ । हिजोआज घाँस, दाना, चोकर ,भैंसी र गाई खरिद गर्न महंगो भएसँगै पहिलेको तुलनामा बचत घटेको उनले बताए । फार्ममा अहिले रु पचास लाख लगानी भइसकेको उनले बताए। उनले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिए।

“बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्‍याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्‍याएपछि बल्ल शरीरमा फुर्ति आउँछ”, ढुङ्गानाले भने।

प्रतिलिटर ९० रुपियाँमा दूध बिक्री हुने गरेको उनले बताए। ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्‍याउछन् । उनले भने, “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर, गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ ।” पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाए । उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन् । जहाँ दुईलाई रोजगारीसमेत दिएका छन् ।

उत्पादनको जिम्मा स्थानीय सरकारले लिनुपर्ने उनले बताए ।’ एक द्वार प्रणालि मार्फत बिक्रीवितरण गरिनुपर्छ,यसो गरियो भने बल्ल किसान र किसानको उत्पादन सुरक्षित हुन्छ’ उनले भने, ‘थप उत्पादनमा हौसला मिल्छ स्थानीय सरकारले किसानलाई वर्गिकरण गर्नुपर्नेछ कृषि सम्बन्धि विभिन्न कार्यक्रम,तथा तालिम र सम्मान जरुरी छ ‘ ।

भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुंगानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताए । ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिदैन । आफुलाई फापेको भैंसीपालनसँगै उनले कुखुरापालन पनि सुरु गरेका छन् ।

अहिले ढुंगानाको फर्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु आठ लाख पुग्छ । गाईभैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ ।

म्याग्दीमा बढ्यो दूधको मूल्य
म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ। दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् ।

मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताए।

दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनी नपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताए। “हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ” पौडेलले भने। यता उपभोक्ताले दूध आम उपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनु पर्नेमा जोड दिएका छन् ।

उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिदाँ दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।

You might also like

Comments are closed.