नवविवाहित जोडीलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट

पोखरा । पोखराको अन्नपूर्ण केबलकारले नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ ।

केबलकारका अनुसार नवविवाहित जोडीका लागि १ टिकटको खरीदमा अर्को टिकट निःशुल्क प्रदान गर्नेछ । यो योजनामा सहभागी हुन नवविवाहित जोडीले आफ्नो विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना असार मसान्तसम्म लागु हुने केबलकारले जनाएको छ ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण भएको छ ।

footwear zone

दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।

केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा रहेको छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन् ।

You might also like

Comments are closed.