काठमाडौं । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित घनाजंगलको बीच भागमा पर्ने मोतिचौरमा १०८ धाराका निर्माण गरिएको छ ।
प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृहसहित भक्तजनलाई विश्राम गर्ने पाटीपौवा निर्माण गरेका हुन् ।
गाउँपालिकाको रु ८ लाख सहयोग तथा स्थानीयको पहलमा करिब रु २५ लाख जुटाएर १०८ पानीको मूल भएको स्थानमा १०८ धारासहित सामान्य मन्दिरलाई व्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए । मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी भारतको राजस्थानबाट ढुंगाले र गाईमुखी ल्याइ धारा बनाइएको हो ।

स्थानीयले रु २० लाखको लागतमा १०८ धारा, रु तीन लाखमा कपडा फेर्ने घर, ठाँटी भवन मर्मत तथा जस्तापाता फेर्न रु दुई लाख ७९ हजार खर्च गरेका छन् ।
मन्दिरलगायतका संरचना बनाउन स्थानीय समाजसेवी बेलबहादुर पुर्जा, दाना स्थायी घर भई हाल यूकेमा बसोबास गर्ने कृष्ण तुलाचन, हरिमाया राम्जाली, आनन्द पुनलगायतले आर्थिक सहयोग गरेको स्थानीय अन्नपूर्ण-३ का वडाध्यक्ष रमेश पुर्जाले बताए ।
हिउँदमा पनि पानी नसुक्ने १०८ वटै मूलबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ । १०८ धारासहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमकाबीच वडाध्यक्ष पूर्जा, समाजसेवी कृष्ण तुलाचन, कार्यपालिका सदस्य आशा गुरूङले संयुक्त उद्घाटन उद्घाटन गरे ।
सोही अवसरमा वडाध्यक्ष पुर्जाले मौतिचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर अगाडि बढ्ने बताए ।
डेढवर्ष अगाडिसम्म पूजाआजा गर्न आउँदासमेत वन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने अवस्था, एकरात काट्नसमेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाको भनाइ छ ।
मोतीचौरमा शिद्घबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर रहेका छन् । सिद्धबिहार र गुफा मन्दिरमा बलि दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ ।
भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको व्यवस्थापन समितिको भनाइ छ ।मौतिचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुन्छ ।
सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।




Comments are closed.