विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताएका छन् ।

विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताए ।

उनले भने, “राज्यको दायित्व सञ्चार जगतलाई टेवा दिने र सक्षम बनाउने हो, विज्ञापन भएन भने सञ्चार क्षेत्र राम्रोसँग अघि बढ्न सक्दैन । राज्य वा सरकारले सञ्चार माध्यमलाई कसरी सक्षम र सवलीकरण गर्ने भन्ने पाटो महत्वपूर्ण हो, आवश्यक कानुन बनाएर विज्ञापन बोर्डमार्फत व्यवस्थित गर्नु जरुरी छ ।”

footwear zone

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशभित्रका सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर सोका माध्यमबाट हातेमालो गर्दै सहकार्यको प्रयत्न गरेको बताए । सञ्चार, विज्ञापन क्षेत्र र विज्ञापन बोर्डका बीचमा त्रिकोणात्मक सम्बन्ध रहेको उनले उल्लेख गरे ।

प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गण्डकी प्रदेशमा विज्ञापन क्षेत्रको नियमनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सरकार विज्ञापनदाता र नियमनकारी दुवै निकाय रहेको बताउँदै संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारले विज्ञापन कानुन बनाउन सक्ने व्यवस्था गरेको उल्लेख गरे । उनले स्थानीयस्तरको विज्ञापन स्थानीय सञ्चार माध्यममा नै प्रकाशन/प्रसारणको व्यवस्था सरकारी निकायलाई आग्रहसमेत गरे ।

कार्यक्रममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापन आचारसंहिता, होर्डिङ बोर्ड र त्यसको नियमन तथा अनुगमन र विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषयलगायतबारे छलफल भएको थियो । कार्यक्रममा प्रदेश र विभिन्न स्थानीय सरकारका प्रतिनिधि, विज्ञापन व्यवसायी, उद्योगी तथा सञ्चारकर्मी सहभागी थिए ।

You might also like

Comments are closed.