अनुदानको धानको बीउ महँगोमा किसानलाई वितरण

रामपुर । रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।

अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउछन् । उनले १२ किलो सावित्री, पाँच किलो साँवा मन्सुली गरी १८ किलो धानको बीउ प्रतिकिलो रु ४५ मा खरिद गरेको बताए । यस्तै बिरमला कुमालले सहकारीबाट १५ किलो उन्नत जातको बीउ ल्याए । उनलाई अनुदानमा ल्याएको धानको बीउको खरिद बिक्री मूल्य भने थाहा थिएन ।

“बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ चर्को मूल्यमा बिक्री गरेको थाहा पाए”, उनले भने । सहकारीका अध्यक्ष भेषबहादुर वंशीले भने ढुवानी, भण्डारण खर्च, धान वितरणका निम्ति परिचालित जनशक्तिको खर्चसहित संस्थाले प्रतिकिलो रु ३९ मा खरिद गरेको बीउ रु ४५ का दरले किसानलाई वितरण गरेको बताए ।

footwear zone

उनि भन्छन्, “बीउ वितरण तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरेका थियौँ, उनीहरुलाई खाजा व्यवस्थापन, खुल्ला धान बिक्री गर्दा पैसा फिर्ता गर्न झण्झट हुने भएकाले सहकारीले रु ४५ मै बिक्री वितरण गरेको हो ।” पालिकाको केन्द्र बेझाड बजारदेखि रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिब १० मिनेट समय लाग्छ । सो दुरीको ढुवानी भाडा नै जोडेपनि प्रतिकिलोमा रु ६ मूल्य अधिक रहेको स्थानीयवासी बताउँछन् ।

सहकारीबाट किसानले सहुलियत मूल्यमा बीउ पाइएला भन्ने आशा गरेकी बसुन्धरा कँडेल डोटेल महंगो मुल्यमा खरिद गर्नुपरेको गुनासो गर्छन् । यस्तै स्थानीय तुल्सी खनालले साँवा मन्सुली जातको ३५ किलो (एक बोरा) धान प्रतिकिलो रु ४५ का दरले रु एक हजार ५७५ मा खरिद गर्नुभएको छ । उनले सहकारीले जुन कायम ग¥यो सोही मूल्यमा धान खरिद गरेर ल्याएको बताए ।

अनुदानको बीउ सहकारीले महँगोमा बिक्री गर्नु गलत भएको रामपुर–३ का वडाध्यक्ष दामोदर पाठकले बताए । “किसानलाई सेवा दिने उद्देश्यले नगरले अनुदान कार्यक्रम ल्याएको हो, सहकारीलाई नाफा गर्न होइन, नाफाघाटाको कुरा जोड्न भएन, जनताले सहुलियत रुपमा सेवा पाउनुप¥यो, यसबारे संस्थासँग जानकारी माग्छौँ”, उनले भनेयो ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको बताउछन् । “मूल्य बढाएर किसानलाई धान बिक्री गरेको जानकारी हामीलाई आएको छ, सहकारीले हामीलाई स्पष्टीकरण भने अहिलेसम्म सोधेको छैन”, प्रमुख पाण्डेयले भने ।

सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागको आधारमा साबित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।

रामपुरमा केही सहकारी समूहले पनि रु दुईदेखि रु चारसम्म प्रतिकिलोमा ढुवानी मूल्य जोडेर बीउ वितरण गरेको पाइएको छ । पालिकाले दिएको सहुलियत मूल्यमा चर्को मूल्य जोडेर बीउ वितरण गर्दा किसान मारमा परेका छन् ।

You might also like

Comments are closed.