महागंगा आरती : आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण

जनकपुर । जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक गंगासागर पोखरीको सन्ध्याकालीन महागंगा आरती आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्रत्येक दिन साँझको समयमा हुँदै आएको महागंगामा पछिल्लो समयमा आरती हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घूइँचो लाग्ने गरेको छ । विगत आठ वर्षदेखि सञ्चालित महागंगा आरतीमा आन्तरिकसँगै छिमेकी मुलुक भारत तथा अन्य मुलुकबाटसमेत पर्यटक आउने गरेको सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक संयोजक रामअशिष यादवले बताए ।

प्रदेशसभा सदस्यसमेत रहका यादवले भारतको बनारस, हरिद्वार, बनारसलगतयका स्थानमा हुने आरतीझैँ पोखरीमा महागङ्गा आरती हुने गरेकाले पनि दैनिक आरती दर्शनका लागि पर्यटकको आगमन बढ्को बताए ।

footwear zone

‘सुरु सुरुमा थोरै संख्यामा मात्र पर्यटक आउने गर्नुहुन्थ्यो’, महागंगा आरती समितिका अध्यक्ष राजकुमार महासेठले भने, ‘अहिले महागङ्गा आरती दर्शनका लागि दैनिक १५० देखि २०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।’ यतिबेला महागङ्गा आरती जनकपुरधामको बिशेषतासमेत बनिसकेको उनको कथन थियो ।

दिनभरी गरेको भूल वा गल्तीको क्षमा माग्दै हरेक दिन साँझ हुने महागङ्गा आरतीमा सहभागी भए क्षमा पाउने र मनोकांक्षा पुरा हुनुको साथै धार्मिक, आध्यात्मिक शक्ति प्राप्त हुने विश्वासका साथ दैनिक उल्लेख्य संख्यामा स्थानीय श्रद्धालु तथा पर्यटकहरु आउने गरेका छन् ।

पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको महागंगा आरती जनकपुरधामको आर्थिक सम्बृद्धि र व्यापारिक विकासको माध्यमसमेत बनेको स्थानीय व्यापारीले बताएका छन् । ‘धार्मिक, सांस्कृति आस्थाको केन्द्र जानकी मन्दिरमा दर्शन गर्न आउने पर्यटक प्रायः साँझको समयमा अनिवार्य रुपमा महागंगा आरतीमा सहभागी हुने गरेका छन्’, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष एम्बु साहले भने, ‘जसका कारण होटल व्यवसायसँगै यहाँको व्यापार–व्यवसायमा टेवा पुग्दै आएको छ ।’

महागंगा आरती जनकपुरधामको समृद्धिका लागि महत्वपूर्ण कोसेढुङ्गा बनेको साहको भनाई छ । कुनैबेला फोहोरको डङ्गुरका कारण दुर्गन्धित बनेको पवित्र गंगासागर पोखरीको सरसफाइसँगै विसं २०७१ साल जेठ २५ गतेदेखि सुरु भएको महागंगा आरतीको पहिलो आरती नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रे तथा ब्रह्माकुमारी राजयोग केन्द्रका सञ्चालिका गंगा माताले गरेका थिए ।

त्यसयता पूर्वराष्ट्रपति डा रामवरण यादव, भारत विहारका उपमुख्यमन्त्री सुशील मोदी, भारत, अमेरिका, श्रीलङ्का, थाइल्यान्डलगायतका देशका राजदूत, सभामुख, राष्ट्रिसभा अध्यक्ष, विभिन्न न्यायाधीश, प्रहरी र सेनाका उच्च पदाधिकारी पनि महागङ्गा आरतीमा सहभागी भइसकेका छन् ।

धार्मिक र साँस्कृतिक इतिहास बोकेको जनकपुरधाममा ‘ग्रीन जनकपुर, क्लिन जनकपुर’ अभियानअन्तर्गत गंगासागर पोखरीको सरसफाइसँगै महागंगा आरती सुरु गरिएको सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक संयोजक यादवले बताए । सुरुमा बनारसको पुजारीबाट मिथिलाका पुजारीलाई आरतीसम्बन्धी प्रशिक्षण दिई गंगासागर पोखरीमा महागङ्गा आरती सुरु गरिएको थियो । सुरुको समयमा एक पुजारीबाट मात्र महागंगा आरती गरिएकोमा अहिले तीन पुजारीबाट आरती हुँदै आएको छ ।

महागंगा आरतीका क्रममा हुने मन्त्रजपले श्रद्धालुलाई थप आकर्षित बनाउने गरेको पाइएको छ । साहित्यकार डा राजेन्द्र विमलद्वारा लिखित तथा सुनिल मल्लिकद्वारा गायन गरिएको महागङ्गा आरती भर्जन सुनेर श्रद्धालु थप उत्साहित हुने गरेका छन् । जनकपुरधामको गंगा आरतीमा गंगाको स्तुतिगान मात्र नभइ सबै देवीदेवताको मन्त्रजप हुने गरेकोले यसको विशेष महत्व रहेको समितिका अध्यक्ष महासेठले बताए ।

महागंगा आरतीको आठौं वर्षमा
जनकपुरधामस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक गंगासागरको सरसफाइ अभियानबाट सुरु भएको महागंगा आरती आज सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आज साँझ गंगासागर पोखरीमा विशेष महागङ्गा आरती तथा धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ ।

You might also like

Comments are closed.