काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला आजदेखि सुरु भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङकोे आयोजनामा पहिलो पटक मेला आयोजना गरिएको हो ।
महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले स्थानीय उत्पादनलाई बजारीकरण गरी संलग्न उद्यमीको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए। औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको ३० प्रदर्शनी कक्ष छ ।
आफ्नो उत्पादन बजारीकरण र प्रचारप्रसार गर्नका लागि पाँचथर, इलाम, तेरथुम र सङ्खरसभा जिल्लाबाट पनि उद्यमी ताप्लेजुङ पुगेको आयोजकले जनाएको छ । कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकन गर्न सकिने सचिव गुरुङले जानकारी दिए।

त्यस्तै मौलिक तथा स्थानीय खाद्य महोत्सव, खाँडी, अल्लो, ढाका तथा स्थानीय वेषभूषाको प्रदर्शनी रहने छ । पर्यटन तथा औद्योगिक फोटो प्रदर्शनी, औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमूलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्तक्र्रियासमेतको आयोजना गरिएको महासंघका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए।
उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, फुङ्लिङ नगरपालिका लगायतको सहयोग रहेको आयोजकले जनाएको छ । मेलाको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा साङ्गीतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।




Comments are closed.