पाटनको हवाई सेवा बन्द

बैतडी । यहाँस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ । गत चैत १० गते पाटन–धनगढी उडान भएपनि त्यसपछि हवाई सेवा बन्द रहेको हो । साताको एक दिन बिहीबार पाटनबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमितरूपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले बताए । समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भइरहेकाले पाटन आउन नसकेको जनाएको छ । उनले भने, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, लुक्ला र जोमसोमतिर पर्यटकहरूको घुइँचो छ, उतैतिर बढी उडान भर्ने गरेको छ ।”

अढाइ महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयरका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए । उनले भने, “लुक्ला जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा हाल उडान भइरहेको छ, उता बढी यात्रुको चाप हुने सिजन हो, अब उताको सिजन सकिँदैछ, केही हप्तापछि यता नियमितरूपमा सञ्चालन हुन्छ ।”

footwear zone

अठार यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिकरूपमा उडान हुँदै आएको थियो । यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो । यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकामा फागुन पहिलो साता सञ्चालन भएको थियो ।

You might also like

Comments are closed.