काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँगको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।
‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको उनले बताए । विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए ।
सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ ।

केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।छलफलमा आर्थिक वर्ष ०७९–८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएका थिए ।




Comments are closed.