पोखरा । सरकारले ल्याएको वितरणमुखी बजेटले उद्यमशीलता विकास नहुनेमा एक कार्यक्रमका वक्ता सहमत भएका छन् ।
उनीहरुले रोजगारी सिर्जना तथा उत्पादनलाई केन्द्रमा राखेर बजेट ल्याउन स्थानीय सरकारहरुसँग माग पनि गरेका छन् ।पोखरा उद्योग वाणिज्य संघले आइतबार धादिङ उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा आयोजना गरेको अन्तरक्रियामा सो माग गरिएको हो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले बैंकबाट ऋण नपाउने,लागत बढ्ने तथा अनावश्यक करको बोझले निजी क्षेत्र थलिनसक्ने सम्भावना व्यक्त गरे ।

उनले उत्पादकत्व बढाउनेतर्फ ध्यान दिन तीनवटै तहका सरकारसँग आग्रह पनि गरे । आर्थिक मुद्दाहरुमा सबै उद्योग वाणिज्य संघहरुबीच साझा धारणा बन्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले निजी क्षेत्रका एजेण्डाहरुबारे साझा अभिमत बन्न नसकेको स्वीकारे । उनले सहकार्यमा जोड दिँदै नेपाल उद्योग वाणिज्य महासंघले नै उद्योगी/व्यवसायीका समस्या सल्टाउन पहल गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा धादिङ उवा संघका पूर्वअध्यक्ष चन्द्रकान्त अधिकारीले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साझा समस्याहरुबारे महासंघले खासै चासो नदिएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले पोखराको उत्पादकत्व बढाउन पर्यटन उद्योगको विकास हुनेगरि योजना बन्नुपर्नेमा जोड दिए । पर्यटनको उत्थान भए त्यसले अन्य क्षेत्रको विकासमा पनि सघाउने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग आवद्ध व्यवसायीहरुबीच सहकार्यमा जोड दिएका थिए ।





Comments are closed.