बजार पाएनन् बङ्गुरपालक किसानले

कञ्चनपुर । कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन् । केही दिनअघि मात्रै रु चार हजारमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर रु दुई हजारमा झरेको छ । बङ्गुरको मासु रु २८० प्रतिकिलोका हिसाबले बिक्री हुँदै आएकोमा घटेर रु दुई सय पुगेको छ ।

‘पहिले बङ्गुर र पाठा खरिदका लागि व्यापारी घरसम्मै आउँथे,’ एक दशकदेखि बङ्गुरपालनको कार्यमा लागेका शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान तेजबहादुर चौधरीले भने, ‘यस वर्षको अहिलेसम्म बङ्गुर खरिदका लागि व्यापारी पुगेका छैनन् । बजार खोज्दै हिँड्नु परेको छ ।’

चौधरीको फार्ममा पाठा र माउ गरी ५० बढी बङ्गुर रहेका छन् । बङ्गुर बेचेरै उनले वार्षिक रुपमा तीन लाख बढी आम्दानी गर्दै आएका छन् । यहाँका किसानले ड्युरेक, पाख्रिवास, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गरेका छन् । ‘दुई वर्ष कोरोना सङ्क्रमणका कारण बङ्गुरपालन व्यवसाय प्रभावित बन्यो”, चौधरीले भने, “कोरोनाको सङ्क्रमण कम भएसँगै व्यवसाय अगाडि बढ्नेमा आशावादी थियौँ ।’

footwear zone

बङ्गुरपालन व्यवसायमा संलग्न किसान रुपा चौधरीले बङ्गुरपालन गर्ने धेरै र बजार साँघुरो भएपछि निकै समस्या भएको बताइन् । उनले यहाँ पालिएका बङ्गुर कैलाली, बझाङ, अछामसम्म पुग्ने गरेको जानकारी दिइन् । चौधरीले भनिन्, ‘हाल बङ्गुरको माग घटेपछि लागत खर्च उठाउनसमेत हम्मे हम्मे छ ।’ बङ्गुरलाई खुवाउने चारो, औषधि लगायतमा धेरै खर्च हुने गरेको उनको भनाइ रहेको छ ।

बजारमा बङ्गुरको माग थोरै छ । प्रतिस्पर्धा धेरै छ । त्यसै कारण वर्षौंदेखि बङ्गुरपालन गर्दै आएका व्यापारीले व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको दीपक चौधरीले बताए । बङ्गुरको बजार प्रवर्द्धनका लागि स्थानीय तह र सम्बद्ध सरकारी निकायले सहयोग गर्नुपर्ने बङ्गुरपालकहरुको भनाइ रहेको छ ।

You might also like

Comments are closed.