बागलुङको बिहुँ-नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने

बागलुङ । सरकारले बिहुँ–नरेठाँटी सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यहाँको काठेखोला गाउँपालिका–६ देखि गलकोट नगरपालिका–२ जोड्ने उक्त सुरुङमार्गको अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ५० लाख बजेट छुट्ट्याएको छ ।

सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आउँदो आवका लागि सो बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । उक्त सुरुङ मार्गको प्राररम्भिक अध्ययन गरिने चर्चा बेलाबेला चल्ने गरे पनि सरकारले पहिलोपटक बजेटको प्रबन्ध गरेको हो । शिक्षामन्त्री एवं बागलुङ–२ का सङ्घीय सासंद देवेन्द्र पौडेलले रातो किताबमा समावेश भएर आएकाले सम्भाव्यता अध्ययनको योजना छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे।

राष्ट्रिय योजना आयोग र मन्त्रालयका पदाधिकारीसँग भेटेर सुरुङमार्गको अध्ययनका लागि बजेट विनियोजन गर्न आफूले पहल लिएको मन्त्री पौडेलको भनाइ छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा घण्टौँको यात्रा केही मिनेटमै छोटिने गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बताए ।

footwear zone

“यसअघि एकपटक परामर्शदाता कम्पनीका प्रतिनिधि आएर स्थलगत अवलोकन पनि गर्नुभएको थियो, छोटो दूरी पर्ने र उपयुक्त भूगोल छानेर अध्ययनको काम अघि बढाउने कुरा भएको हो”, उनले भने, “अहिले बजेट नै विनियोजन भएकाले सम्भाव्यता अध्ययनको काम अघि बढ्ला भन्ने आशा गरौँ ।”

उक्त सुरुङ मार्ग बनेमा यातायातसँगै यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्ने देखिएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माणको योजनालाई अघि बढाएको छ । कुनै सुरुङमार्गको निर्माणकार्य सुरु भइसकेको छ, भने कुनै अध्ययनको चरणमा छन् । आउँदो आवमा २४ योजनाका लागि मन्त्रालयले रु एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको छ । त्यसमध्ये गण्डकी प्रदेशको राजधानी पोखराको हेम्जादेखि नयाँ पुल जोड्ने सुरुङमार्ग पनि छ ।

उक्त योजनाका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमै पर्ने उक्त सुरुङमार्ग निर्माण भएमा अहिलेको डेढ घण्टाको दूरी १५ मिनेटमा छोटिने जनाइएको छ ।

You might also like

Comments are closed.