बढ्न थाल्यो विद्युतीय गाडीको आयात, एघार महिनामा भित्रिए पाँच अर्बका गाडी

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एघार महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको एघार महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा ७ सय प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको अवधिमा जम्मा २१३ विद्युतीय आयात भएका थिए ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १ सय किलोवाटका १५४ र १५० देखि २ सयसम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १सय किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १ सय किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।

footwear zone

यस्तै युकेबाट १ सय दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २ सय किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १ सय देखि २ सय किलोवाट क्षमताका ५२, जापानबाट ७८, युकेबाट चार गाडी नेपाल आएका छन् । युकेबाट २ सय देखि ३ सय किलोवाट क्षमताका चार र युकेबाटै ३ सय क्षमताभन्दा माथिका दुई विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

गत वैशाखमा न्यून मात्रामा विद्युतीय गाडी भित्र्याइएकामा जेठमा वृद्धि भएको छ । गत वैशाखको तुलनामा जेठमा मात्रै १५३ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । वैशाखमा ७८ मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

पाँच अर्बका गाडी भित्रिए
चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा रु पाँच अर्ब बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा रु पाँच अर्ब पाँच करोड १६ लाख १३ हजार विदेशीएको हो ।

यस्तैगरी उक्त विद्युतीय गाडी आयातबाट सरकारले रु एक अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व सङ्कलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ ।

मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारी आयात खुला राखेको थियो ।

You might also like

Comments are closed.