पर्यटकको पर्खाइमा होटल व्यवसायी

खलङ्गा । आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । रारा ताल पुगेर जुम्ला सदरमुकाम खलङ्गा आउने आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा यहाँका व्यवसायी रहेका छन् । यो मौसममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय संकटमा परेका छन् ।

कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीले होटलमा लगानीसमेत बढाएका थिए । तर, अहिले अधिकांश होटल रित्तै बनेका छन् । त्यसो त हिउँदका तीन महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू नै आउँदैनन् ।

क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटल अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए। उनका अनुसार अहिले ठूला लगानीका होटलमा पाँचवटा कोठा भरिन पनि मुस्किल छ। उनले भने, “कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुन्छ ।” उनका अनुसार जुम्लामा रु ५० लाखदेखि दुई करोडसम्म लगानी गरेका होटल मात्रै झण्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलमा १० देखि २० जनासम्म पाहुनामात्र आउने गरेको उनले बताए ।

footwear zone

ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुना राख्न सकिने सुविधा छ । होटल दौंतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको जानकारी दिए । उनको होटलमा १६ कोठा छन् । तर दैनिक आठ कोठा भरिन मुस्किल हुन्छ । कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे । “अहिले त व्यवसायीले नै पाहुना खोज्नुपर्ने बाध्यता छ”, उनले भने।

साउनदेखि भने पर्यटक बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताए। उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसम हो । पर्यटकको सङ्ख्या बढ्दै गएपछि साना होटलले लगानी बढाए भने कुनै समय पर्यटकीय होटल बनाउने होडबाजी नै चल्यो ।

उनले भने, “जब कोरोना महामारी सुरु भयो, त्यसबेलादेखि ओरालो लागेको व्यवसायले अझै पनि गति लिन सकेको छैन”, संघको तथ्यांकअनुसार कोरोना महामारी अघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए। जुम्लामा होटल व्यवसायमा झण्डै रु दुई अर्ब लगानी भएको संघको अनुमान छ । संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३०० ले रोजगारी पाएका छन् ।

You might also like

Comments are closed.