पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार बिहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेलासमेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैँचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे ।
आठ रोपनीभन्दा बढी जमिनमा सुन्तला खेती गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बगैँचामा बिना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै पुगेको बेला चिन्ता प्रकट गरे । ‘यसपाली असिना पनि झरेको छैन् । तर किन हो मेयरसाप सुन्तला अत्याधिक झरेको छ । आज तपाईलाई घरमै भेट्न पाइयो यसको सामाधान खोजिदिनुपर्ने भयो’ उनले भने ।
मेयर आचार्यले आफूसंगै पुगेका महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियालाई कारण समाधान के हुन सक्छ बताउन भनेसंगै कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्नसक्ने जानकारी दिए । उनका अनुसार सुरुमा सुन्तला फल्ने बित्तिकै बढ्न प्रतिस्पर्धा गर्नेहुँदा झर्छ । दोस्रो कारण सुख्खाका कारण पनि सुन्तला झर्छ ।

जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर, जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने उनले बताए । साउन लागेपछि पतेरोका कारण सुन्तला झर्यो भने त्यो चिन्ताको विषय हुने उनले सुनाए । सुन्तला बगैँचा घुम्ने क्रममा स्थानीय कृषकले सुन्तलाको फेद कुहिने, बोट मर्ने र सुन्तला झर्नेलगायतका समस्या राखेका थिए । त्यहाँका किसानले पानीको व्यवस्थापन हुन सके सुन्तला र अन्य फलफूल र तरकारीको उत्पादनसमेत बढ्ने र विस्तार हुने जानकारी गराएका थिए ।
उक्त अवसरमा कृषि महाशाखा प्रमुख कडरियाले समस्या समाधानका उपायबारे बताएका थिए । उनले मल्चिङ र यसको फाइदालगायतका विषयमा कृषक र मेयर आर्चायका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजाललाई जानकारी दिएका थिए । महानगरबाट प्रदान गरिएको अनुदान र त्यसको उपयोगका विषयमा समेत उनले जानकारी दिए ।
मेयर आचार्यले पोखरा २१ मा ६० वर्षीय कृषक ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अबलोकन गरे । कृषक कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराए । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्केका कार्कीले अहिलेको सिजनमा तीन रोपनी क्षेत्रफलमा खर्बुजालगायकामा पाँच हजार किलो बेचेका छन् ।
अहिले बारीबाट नै ७० रुपैयाँ प्रतिकेजीमा बजारबाट व्यापारी पुगेर ल्याउने गरेको उनले जानकारी दिए । मेयर आचार्य पोखरा २१ मा बिहान कृषक सम्मान र अनुदान वितरण गर्ने कार्यक्रमका लागि पुगेका थिए । बिहान झण्डै ९ बजे सुरु हुने कार्यक्रमका क्रममा उनी त्यसको दुई घण्टा अगाडि नै किसानका पाखोबारीमा बिना जानकारी किसानको पाखो बारीमा पुगेका हुन् ।





Comments are closed.