काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१औं एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको शुभारम्भ गरिएको छ ।
एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी छन् ।
शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिने छ । बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।

सो अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरु, पत्रकार महासंघ काभ्रेका उपसभापति विनोद न्यौपाने, बैंकका विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, वाग्मती प्रादेशिक प्रबन्धक धु्रवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुङ्केल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।




Comments are closed.