‘पूर्वाधारका काम समन्वय गरी अगाडि बढाऔँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गरेका छन् ।

कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गरेका हुन् ।

यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे ।

footwear zone

त्यस्तै विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नं ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने पुनः प्रश्न गरे ।

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्र गर्न नसकिने बताएका थिए । पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्र हुने उनिहरूले भनाइ राखे ।

प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए । सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनले धारणा राखे ।

प्रमुख साहले भने, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।”

बैठकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पनि प्रतिनिधित्व थियो ।

You might also like

Comments are closed.