गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी सुरू

काठमाडौं । पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् ।

यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए ।

धुञ्चेमा ४३, तिवारी बगरमा दुई, खन्तिमा दुई, देउरालीमा एक, डिम्सामा दुई, चन्दनबारीमा सात, चोलाङपाटीमा दुई, लौरी विनायकमा तीन र गोसाइँकुण्डमा चार गरी यी नौ स्थानको धार्मिक मार्गमा ६७ स्थायीरूपले बनेका होटल तथा लज रहेको होटल व्यवसायी संघले जनाएको छ ।

footwear zone

गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान तथा बस्न कुनै समस्या नपर्ने होटल संघलेका जिल्ला अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए । एकैसाथ स्थायी होटलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्कुको व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ । थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको जनाउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै १५० बोरा चामल खपत हुने अनुमान गरे ।

गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी, काजु, बदामजस्ता सामग्रीसमेत होटलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण दुई वर्षसम्म यात्रुको भीड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् ।

यही साउन २३ गते पुत्रदा एकादशीबाट स्नान सुरू भई २७ गते समापन हुने जनैपूर्णिमा मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो । तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पति नकाट्न र फोहर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.