काठमाडौं । नेपालमा गत आर्थिक वर्षभन्दा २४.७२ प्रतिशतले आयात बढेको छ । नेपालले अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रूपैयाँको आयात गरेकोमा यस वर्ष १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात गरेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको माल वस्तु आयात गरेको पाइएको छ ।
तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा धेरै भारतबाट वस्तुको आयात भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको छ। १२ खर्बभन्दा बढीको सामान आयात हुँदा जम्मा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको छ । नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको छ। आव २०७८/७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।
बढ्यो व्यापार घाटा
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर थियो ।




Comments are closed.