पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा पुग्न सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठानले सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिष्ट्रिक गभर्नर तथा महानगर प्रमुख धनराज आचार्यलगायत विशिष्ट समाजसेवी रहेका छन् ।
प्रतिष्ठानका शुभेच्छुक राम बसेल लायन्स क्लब अफ इन्टरनेशनलको लायन वर्ष २०२२/२०२३ का लागि डिष्ट्रिक ३२५ ‘आई’को गभर्नरमा, ध्रुव श्रेष्ठ डिष्ट्रिक ३२५ ‘जे’को गभर्नरमा र राजेन्द्र बाटाजु डिष्ट्रिक ३२५ ‘के’को गभर्नरमा निर्वाचित भएको खुसीमा उनिहरुलाई एकैपटक सम्मान गरिएको हो । चारै जनालाई प्रतिष्ठानका संस्थापक अध्यक्ष रमा पराशर, निवर्तमान अध्यक्ष हिरादेवी बास्तोला र वर्तमान अध्यक्ष बिन्दु श्रेष्ठले संयुक्तरुपमा दोसल्ला, माला, खादासहित सम्मान गरेका थिए ।
कार्यक्रममा सम्मानित धु्रव श्रेष्ठले प्रतिष्ठानका गतिविधिलाई आफूले नजिकबाट नियाल्दै आएको बताएका छन् । साथै उनले रमा पराशर आम महिलाका लागि नमूना पात्र भएको उल्लेख गरे । प्रतिष्ठानले समाजमा असल कर्म गर्नेलाई प्रोत्साहन मात्र नभइ असल मार्ग निर्देशन पनि गरेकोमा उनले खुसी व्यक्त गरे ।

अर्का सम्मानित व्यक्ति राजेन्द्र बाटाजूले प्रतिष्ठानसँग निरन्तर सहकार्य र सहयात्रामा नरहे पनि सम्मानले थप जिम्मेवारी बोध गराएको बताए । साथै उनले लायन्सका गतिविधिलाई नजिकबाट राम्ररी नबुझ्नेहरुले गरेका विविध टिकाटिप्पणी पनि प्रेरणाका स्रोत बन्ने गरेको बताए ।
त्यस्तै, राम बसेलले प्रतिष्ठानले साहित्य, समाजसेवा र शिक्षासेवाका क्षेत्रमा गरेको योगदानको खुलेर प्रशंसा गर्दै प्रतिष्ठानका संस्थापक रमा पराशरसँगको संगतले जीवनी सत्कर्ममा लाग्नेहरुका लागि एउटा पाठशालाका रुपमा आफूले पाएको बताए ।
प्रतिष्ठानका बारेमा प्रकाश पार्दै दीपेन्द्र श्रेष्ठले रमा पराशरको एक्लो प्रयासलाई संस्थागत रुप दिएर निरन्तर शिक्षासेवा, समाजसेवा, साहित्य सेवा र राष्ट्रसेवामा क्रियाशील प्रतिभालाई प्रोत्साहन, उत्साह र हौसला प्रदान गर्नु नै प्रतिष्ठानको मूल कार्य रहेको बताउ ।
त्यस्तै, संस्थापक रमा पराशरले आफ्नो भन्नु नै पोखरेली र यही प्रतिष्ठान रहेको बताउँदै सबैको माया, साथ र आशीर्वादले आफूलाई अगाडि बढ्ने प्रेरणा मिलेको बताइन् । प्रतिष्ठानका उपाध्यक्ष सरिता तिम्सिना पंगेनीले सम्पूर्ण समाजसेवी र लायनवादको यात्रामा लाग्नेहरुको प्रेरणा र हौसला नै प्रतिष्ठानको कमाइ भएको उल्लेख गरिन् ।
साथै समारोहमा प्रतिष्ठानका अभिभावक धनराज आचार्यकी जीवनसंगिनी पुष्पा आचार्य र तीनवटै डिष्ट्रिकका फस्ट लेडीलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव असफल गौतमले गरेका थिए ।





Comments are closed.