हडैया गाउँमा रेशम खेती अभियान

दाङ । दाङको गढवा यसैपनि गर्मी नै हुने ठाउँमा पर्छ । वरपरका गाउँका खेतबारी केही खाली छन् केहीमा धान रोपाइँ भइरहेको छ । त्यहीँबाट केही पर पुगेपछि भने हरियाली छ रेशम खेतीको । गढवा गाउँपालिका- ४ हडैया गाउँको हो यो रेशम खेती ।

हडैया गाउँको करिब ६० बिघा जमिनमा फैलिएको छ यो खेती । जसले हरियालीसँगै गाउँको शोभा पनि बढाएको छ । विगतका केही वर्षदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै सुरु भएको छ ।

यस अभियानका अगुवा मानिन्छन् धादिङका किसान महेशदत्त अधिकारी । सो गाउँमा सबैभन्दा पहिले धादिङको गल्छी गाउँपालिका–४ भल्टारका किसान अधिकारीले रेशम खेती सुरु गरेका हुन् । उनले हडैया गाउँलाई रेशम खेतीबाट हरियाली बनाएपछि यसले अरु किसानलाई प्रेरणा दिएको हो । उनले सुरुमा खाली रहेको १० विघा जमिन भाडामा लिएर रेशम खेती थाले । अहिले पनि उनि यही खेतीमा रमाएका छन् ।

footwear zone

गएको पाँच वर्षदेखि ३६ वर्षीय अधिकारी रेशम खेतीमै छन्। “बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहेकाले बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको हुँ अहिले धादिङमा पनि खेती छ”, उनले भने।

रेशम खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यही पेसा अपनाएको र आगामी दिनमा यसलाई अझै बढाउने योजना रहेको उनको भनाइ छ । अधिकारीको भनाइ छ, “दाङमा यसको सम्भावना राम्रो रहेको र जमिन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।” यहाँ आएर सुरुमा रेशम खेती गर्नुप¥यो भन्दा गाउँलेले विश्वास नगरेको अनुभव उनले सुनाए । डेढवर्षमा बाँझोबारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उनले पाल्न सुरु गरे ।

अधिकारी भने, “अनि सबै गाउँले छक्क परे । त्यसपछि किमुका पात टिप्दै रेशम कीराका लार्भालाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गरेँ, यो प्रक्रियाले उनीहरुमा चाख पनि बढायो। कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन गर्न थालेपछि किसान आकर्षित भए ।”

अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने कामका लागि गाउँका १५ जनालाई रोजगारी पनि दिएका छन् । उनको काम देखेर हडैया र त्यस आसपासका अन्य गाउँका किसान पनि यस खेतीतर्फ आकर्षित भएका छन् । अहिले यहाँ विभिन्न ६ वटा समूह नै बनाएर सामूहिक र केही किसानले व्यक्तिगत रुपमा त्यहाँको ५० बिघा जमिनमा रेशम खेती गरेका छन् । दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने धादिङ्बाट गर्दै आएको उनले बताए।

आफनो उद्योग धादिङ र काठमाडौंमा रहेको उनि बताउँछन्। अब केही समयपछि दाङबाट प्रशोधन गर्ने र कपडा बनाउने आफनो योजना रहेको उनको भनाइ छ। सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपियाँसम्म बचत गर्न सफल भएको बताउने अधिकारी आफ्नो कमाइबाट सन्तुष्ट छन् । एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्न सकिने हुँदा आम्दानी पनि राम्रो लिन सकिने उनको भनाइ छ ।

रेशम खेती अन्य खेतीको तुलनामा महँगो पर्ने र रेशम कीराले उत्पादन गर्ने कोकुन प्रति केजी रु ५ सय पर्ने उनले बताए । रेशम खेती सेतो सुनका रुपमा पनि लिने गरिन्छ । तर पनि केही समस्या छन् । अधिकारी भन्छन्, “यहाँ सिँचाइको अभाव छ। त्यस्तै कीरापालन गर्ने घर पर्याप्त छैनन् ।” त्यस्तै यहाँ उत्पादन हुने कोकुनको यही प्रशोधन र कपडा बुन्ने तान भए कपडा नै तयारी गर्न सकिने उनको भनाइ छ । त्यस्तै रेशम खेती हेर्ने विज्ञ र प्राविधिक, नहुँदा पनि समस्या पर्ने गरेको छ। उनले प्रविधिको अभावले आफूले यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगेर कपडा बुन्ने गरेका छन् ।

उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरु सबै धागो अमेरिका, जापानलगायतका देशमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उनको भनाइ छ । दुई वर्षअघि उहाँले दाङमा उत्पादन भएको धागोबाट बनाइएका साडी काठमाडौंको भृकुटी मण्डपमा लागेको प्रर्दशनीमा लगेर पनि बिक्री गरेको उनले बताए ।

अहिले गढवा गाउँपालिका–४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहाको १० बिघामा सामूहिक र व्यक्तिगत रुपमा रेशमखेती गरिएको छ । त्यसैगरी सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटकदेखि आफ्नो दुई बिघा जमिनमा यसको खेती थालेका छन् । उनले अधिकारीबाट आफूले प्रेरणा पाएर खेती गरिरहेको बताए।

त्यसैगरी गढवा ४ गोबरडिहाका ३२ वर्षीय अन्जीत चौधरीले पनि दश बिघा जमिन भाडामा लिएर सो खेती गरिरहेका छन् । परम्परागत धान मकै, गहुँखेती भन्दा रेशमखेतीबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफुहरु यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् ।

रेशम खेती गरेका किसानलाई प्रोत्साहन गर्न यसअघि लुम्बिनी प्रदेश सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान पनि दिएको थियो । सो रकमबाट दुईवटा कीरा घर निर्माण भइरहेको अन्जित चौधरीले बताए । यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने लुम्बिी प्रदेशसरकारले रेशम खेती गर्ने किसानका लागि रकमसमेत विनियोजन गरेको जनाएको छ ।

You might also like

Comments are closed.