उपभोक्ता ठगी गर्ने १३ कम्पनीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबँैसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको शुभशोप एन्ड केमिकल उद्योग, बालाजुस्थित राजेश हार्डवेयर, काभ्रेपलाञ्चोकको चण्डेश्वरी डेरी फर्म रहेका छन् ।

यस्तै, भक्तपुरको सूर्यविनायकमा रहेको चम्पकेश्वर हार्डवेयर, कालीमाटीमा रहेको एचआर ट्रेड लिंक, काठमाडौंको मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज र चारवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो ।

footwear zone

कार्यालयका सूचना अधिकारी एवम् निरीक्षक निराजन पुडासैनी चालु आर्थिक वर्षमा २८ एकल अनुगमन तथा ९९ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरिएको बताछन् ।

कुन कम्पनीलाई कस्तो जरिवाना माग ?

गुणस्तर तथा नापतौल कार्यालयले काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा रहेको पशुपति आयल स्टोर्सले १० लिटर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा दुई सय ५० मिलीलिटरसम्म घटी बेचेकाले कारबाही गरेको हो । उक्त आयल स्टोर्सलाई वाणिज्य विभागले रु दुई लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

नुवाकोटमा रहेको वनदेवी आयल स्टोर्सले डिजेल तथा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले लगाएको सिल छिनाएर डिजेल तथा पेट्रोल बिक्रीवितरण गरेकाले नापतौल कार्यालयले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा सञ्चालित शुभशोप एन्ड केमिकल उद्योगले नाङ्गो साबुन उत्पादन गरेर बिक्रीवितरण गर्दा उक्त साबुनको तौल तथा लेभल नराखेर बिक्रीवितरण गरेको भन्दै एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । सो उद्योगले तराजुसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको नापतौल कार्यालयले जनाएको छ ।

बालाजुमा रहेको राजेश हार्डवेयरले बिक्रीवितरण गरेको फलाम (कृष्ण मेटल)मा बिलभन्दा कम तौल बिक्री गरेकाले नापतौल कार्यालयले कारबाहीस्वरुप अदालतमा मुद्दा दायर गरेको हो । उक्त हार्डवेयरलाई वाणिज्य विभागले समेत रु तीन लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

काभ्रेपलाञ्चोकमा सञ्चालित चण्डेश्वरी डेरी फर्मले उत्पादन गरेको घ्यूको बट्टामा उत्पादन मिति, तौल नराखी बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । सो डेरीले नापतौल यन्त्रसमेत दर्ता नगरी सञ्चालनमा ल्याएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त डेरीले गरेको ठगी हेलो सरकारमार्फत नापतौल कार्यालयलाई उजुरी आएको थियो ।

उक्त डेरीलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी काभ्रे जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको नापतौल कार्यालय काठमाडौंले जनाएको छ ।भक्तपुरको सूर्यविनायकमा सञ्चालित चम्पकेश्वर हार्डवेयरले तराजु दर्ता नगरी हार्डवेयरका सामग्री बिक्रीवितरण गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ ।

उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । काठमाडौंको कालीमाटीमा सञ्चालित एचआर ट्रेड लिङ्कले तोकिएको तौलभन्दा कम तौल चामल बिक्रीवितरण गरी ठगी गरेकाले नापतौल कार्यालयले कारबाही गरेको हो ।

उक्त कम्पनीले तराजुसमेत दर्ता नगरेको फेला परेको छ । सो कम्पनीविरुद्ध नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

काठमाडौँको मूलपानीमा सञ्चालित जी एन्ड जी हार्डवेयरले तराजु दर्ता नगरी सामान बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी नापतौल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ ।

वीरगञ्जमा सञ्चालित इन्टरनेशनल सिमेन्ट प्रालिले तौलभन्दा घटी सिमेन्ट बिक्रीवितरण गरी ठगी गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । सो सिमेन्ट कम्पनीलाई नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

यसबाहेक चारवटा ट्याक्सी चालकविरुद्ध पनि नापतौल कार्यालयले कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले बा१ज १५०३, बा १ज४७४९, बा१ज १६६७ र बा१ज ८८८२ नंको ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी पुडासैनीले पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाएको, दिउँसै रातिको भाडा लिएर (डेडी हानेको), मिटर बिगारेर ट्याक्सी चलाएर उपभोक्ता ठगी गरेकाले अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिए । उक्त ट्याक्सीविरुद्ध एक वर्षदेखि तीन वर्षसम्म कैद र रु १० हजारदेखि ३० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको नापतौल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको बताउछन् । “आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौँ,” उनी भन्छन् । सो कार्यालयले आव २०७८÷७९ मा रु एक करोड ८५ लाख ५४ हजार तीन सय ७८ राजश्व संकलन गरेको छ ।

You might also like

Comments are closed.