७ महिनामा ३ लाख विदेशी पर्यटक भित्रिए, कुन महिनामा कति ?

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकाअनुुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

footwear zone

कुन महिनामा कति पर्यटक भित्रिए

बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको संकेत गरेको बताए ।

उनले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका तथा एशिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए ।

You might also like

Comments are closed.