‘खिचा’ तेस्रो वर्षमा, कुकुरलाई कपडा सिलाउने व्यवसायमा रमाउँदै यो जोडी

सुनिता सुबेदी, काठमाडौं । दुई वर्ष अगाडि नेपालमा कोरोना महामारीको प्रकोप बढ्दो थियो । कोरोनाका कारण देशमा लकडाउन थियो । लकडाउनको समयमा केही नयाँ काम गर्ने सोचमा थिए रञ्जिता ताम्राकार र प्रणय मानन्धरको जोडी । उनीहरुले विभिन्न व्यापार व्यवसायको अध्ययन गरे । केही फरक काम गर्ने उनीहरुको सोच स्थापना भयो ‘खिचा’ । कुकुरलाई नेवारी भाषामा खिचा भनिन्छ । खिचा स्थापना भएको आज दुई वर्ष पुरा भएको छ ।

कतिपयले घरको रेखदेखको लागि कुकुर पाल्छन् भने कतिपयलाई कुकुर पाल्नु सोख पनि बन्ने गरेको छ । कुकुर पाल्ने क्रम बढिरहेपनि कुकुरलाई लगाइदिने लुगाको अभाव बजारमा रहेको यो जोडीले पत्ता लगायो । त्यसपछि उनीहरुले खिचा ब्राण्डबाट कुकुरलाई कपडा सिलाउने काम सुरुवात गरेका हुन् ।

‘आफ्नै लगानीमा केही गरौं भन्ने सोच थियो । सोही क्रममा नयाँ काम गर्ने सोचका साथ हामीले खिचाको सुरुवात गरेका हौ,’ सञ्चालक ताम्राकारले भनिन् । कुकुरका लागि नेपालमा कपडा सिलाउन राम्रो डिमान्ड रहेको उनले बताइन् । ‘काठमाडौं उपत्यकासहित देशभरबाट अर्डर आउँछन्,’ उनले भनिन् । केही अर्डरहरु विदेशबाटसमेत आउने गरेको उनले बताइन् ।

footwear zone

साना कुकुरदेखि ठूला कुकुरलाई कपडा सिलाइने उनले जानकारी दिइन् । सबै जात र सबै साइजका कुकुरका लागि आवश्यक कपडाहरु खिचा मार्फत सिलाएर तयार पार्दै आइरहेको उनले बताइन् । ‘ग्राहकको अर्डर र कुकुरको साइड अनुसार कपडा सिलाउने काम गर्छौं,’ उनले भनिन् । कुकुरलाई सफा राख्न र जाडोमा चिसोबाट बचाउन पनि कपडा जरुरी रहेको भनाइ छ । ४ सय रुपैयाँदेखि १ हजार ३ सय रुपैयाँसम्मको कपडा आफूहरुसँग उपलब्ध रहेको उनले जानकारी दिइन् ।

उनीहरुले अहिले कपडा सिलाउन फ्याक्ट्री नै स्थापना गरेका छन् । कुकुरको नाम राखेर कपडा प्रिन्ट गर्ने सुविधा पनि उपलब्ध छ ।

You might also like

Comments are closed.