काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौँ महाधिवेशनद्वारा चयन भएको नेतृत्वको शपथ ग्रहण भएको छ । गत साउन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गरिएको आठौँ महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको थियो। राष्ट्रिय कमिटीको कार्यकाल चार वर्षको हुनेछ ।
काठमाडौंमा आज आयोजित एक समारोहका बीच महाधिवेशनको बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिमालले श्रेष्ठलाई शपथ गराए। यसैगरी अध्यक्ष श्रेष्ठले राष्ट्रिय कमिटीका पदाधिकारी, सचिवालय सदस्य तथा सदस्यलाई शपथ गराएका थिए ।
सो अवशरमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीति चुनौतिपूर्ण रुपमा गुज्रिरहेको भन्दै ट्रेड यूनियनबीच एकताको खाँचो औंल्याए। शारीरिक र बौद्धिक श्रम गर्ने नाममा ट्रेड यूनियन विभाजित भइरहनु अनावश्यक भएको भन्दै उनले वर्गको स्वार्थ हेरेर अगाडि बढ्न सुझाव दिए ।

जिफन्टका संरक्षक विष्णु रिमालले आपसी एकता कायम गरी अघि बढ्न निर्देशन दिए। जिफन्ट अध्यक्ष श्रेष्ठले एकताबद्ध भएर तीव्र गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए। उनले एकीकृत ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाइने र जिफन्टले त्यसको नेतृत्व गर्ने बताए ।




Comments are closed.