काठमाडौं । माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत पोखरेलले माइक्रो फाइनान्सहरु बिरुद्ध विभिन्न बहानामा भएका संघर्षहरुको औचित्य नरहेको बताएका छन् । आर्थिक आवाजसँगको विशेष कुराकानीमा बोल्दै अध्यक्ष पोखरेलले माइक्रो फाइनान्स कम्पनीहरुले नेपाल राष्ट्रबैंकको नीति तथा नियमहरुमा रहेर वित्तीय सेवा प्रदान गरिरहेको स्मरण गर्दै पोखरेलले संघर्षका नाममा गैरकानुनी कार्य गर्ने अधिकार कसैलाई नभएको बताए ।
माइक्रो फाइनान्सहरुले ठूला ठूला बैंकहरुसँग पैसा लिएर राष्ट्रबैंकले तोके अनुसार लगानी गरिरहेको बताउँदै अध्यक्ष पोखरेलले माइक्रो फाइनान्सबाट कुनै गल्ती तथा कमजोरी भए राष्ट्रबैंकले नै कारबाही गर्नसक्ने बताए ।
माइक्रो फाइनान्सले गलत गरेको अवस्थामा कारबाही गर्ने निकाय हुँदाहुँदै माइक्रो फाइनान्सलाई काम गर्ने क्रममा हतोत्साही गर्ने गरी भएका गतिविधि स्वीकार्य नहुने पोखरेलको भनाइ छ । माइक्रो फाइनान्सले कहीँ कतै गल्ती गरेको र कमिकमजोरी भएको भए सच्याउन आफूहरु तयार रहेको समेत उनले बताए ।

बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा लघुवित्त कम्पनीहरुले वित्तीय सेवा पुर्याइरहेको बताउँदै अध्यक्ष पोखरेलले नेपालको आर्थिक क्षेत्रमा यो क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।
यसैबीच, संघर्ष समितिका नाममा भएका आन्दोलन रोक्न र त्यस्ता गतिविधिमा संलग्नहरुलाई कारबाही गर्न गृहमन्त्रालय निर्देशनसमेत दिइसकेको छ ।
नेपालमा ६६ वटा माइक्रो फाइनान्सहरुले वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन् । २५ हजार कर्मचारी यो क्षेत्रमा आबद्ध छन् ।




Comments are closed.