पोखरा । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखराको मनोरञ्जन केन्द्रको रुपमा प्रसिद्ध फिस्टेल ड्रिमपार्कबीच सम्झौता भएको छ ।
बैंक र ड्रिमपार्कबीच बुधबार टिकट शुल्कमा छुट दिने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार ग्रीन डेभलपमेन्ट बैंक लि.का ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोबाईल बैंकिङमार्फत् भुक्तानी गर्दा ड्रिमपार्कको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले र ड्रिमपार्कका तर्फबाट पार्कका अध्यक्ष कदम केसीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापत्र हस्ताक्षर समारोहमा बोल्दै बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले पोखराको पर्यटन विकास तथा मनोरञ्जनका लागि संचालनमा ल्याइएको पार्कको मनोरञ्जन सुविधा प्रयोग गरि बैंकका ग्राहकले पर्यटन विकासमा थप टेवा पुर्याउने तथा भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै पार्कका अध्यक्ष केसीले पोखरामा व्यवस्थित मनोरञ्जन पार्कको अभाव रहेको बेला आफूहरुले ड्रिमपार्कको संचालन गरेको र ग्रीन डेभलपमेन्ट बैंकसँग सम्झौता गरि बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा खुशी लागेको बताए ।
बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरुमार्फत् आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।




Comments are closed.