पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनका लागि वाणिज्य उपाध्यक्षमा सोवित पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलको उम्मेदवारीका सन्दर्भमा केन्द्रित रहेर आर्थिक आवाजका लागि मीरा साउँदद्वारा गरिएको कुराकानीः
पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । यहाँका एजेण्डाहरु के–के छन् ?
बिगत ६४ वर्षदेखि संचालनमा रहेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीहरुको उपयुक्त थलो बन्नुपर्छ भन्ने हाम्रो प्रमुख एजेन्डा हो । यो कुनै राजनीतिक गुटउपगुटको चलखेल र खेती गर्ने स्थल होइन् । नितान्त व्यवसायीको हक र अधिकारका लागि लड्ने पवित्र थलो हो । साना व्यवसायीदेखि लिएर ठूल्ठूला व्यवसायीका विविध समस्याहरुलाई निराकरण गर्नका लागि हाम्रो उम्मेदवारी हो ।

आयकर, मूल्य अभिवृद्धिकर, भन्सार, अन्तशुल्कलगायतका प्राविधिक समस्याहरु हामीसँग धेरै छन् । साथै पार्किङ र पार्किङजन्य विषयमा उठेका मुद्धाहरुको समस्या समाधानका लागि पनि हाम्रो उम्मेदवारी हो । युवा उद्यमीलाई व्यवसायी सृजनशिलता व्यावसायिक सिप र क्षमता अभिवृद्धि गर्नु अर्को मूख्य एजेण्डा हो । पोखराको पर्यटन क्षेत्रको सम्वद्धन गर्नु, प्रवर्द्धन गर्नु, व्यवसायीका समस्या सम्बोधन गर्नुपर्नेछ । उद्योगी, व्यवसायीका समस्या के हुन्, त्यसको तथ्यगत रिपोर्ट निकालेर स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्नु अर्को लक्ष्य छ ।
स्वतन्त्रबाट ३ जना उम्मेदवार हुनुहुन्छ । तपाईंहरुको अन्य एजेन्डाहरु केके छन् ?
पोखरा उद्योग वाणिज्य संघको खस्किदै गएको साखलाई जोगाउनु अर्को हाम्रो दायित्व हो । कालन्तरमा व्यवसायीहरुलाई आइपर्ने विविध समस्याहरुका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने अर्को एजेण्डा हो । साथै पोखरा उद्योग वाणिज्य संघमै रहेको जमिनलाई बहुउद्देश्यीय भवन बनाएर दीर्घकालीन आयस्रोत बनाउनु अर्को एजेण्डा हो ।
अहिले भइरहेको सचिवालय व्यवस्थापनदेखि लिएर त्यहाँ भएको अर्थव्यवस्थासम्मलाई उजागर गरेर स्थायीरुपमा आम्दानीको स्रोतको महत्वाकांक्षी योजना बनाएका छौं । ५ करोडसम्म फिक्स डिपोजिटमा राख्ने योजना छ । पोखरामा हजारौं व्यवसायी हुनुहुन्छ । पोखरा उद्योग वाणिज्य संघ ती व्यवसायीको साझा थलो बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
संघ व्यवसायीको साझा थलो बन्नुपर्छ भन्ने मान्यता छ । स्वतन्त्रबाट हामी तीन जनाले मात्रै उम्मेदवारी दिएका छौं । वाणिज्य उपाध्यक्षमा सोबित पौडेल, महासचिवमा तारानाथ ढुंगाना र सदस्यमा यादव पोखरेल रहनुभएको छ ।
सक्षम मान्छे वान टू वान मैदानमा आउनुपर्छ । गुट बनाएर आउने होइन । यो राजनीति गर्ने थलो हो भन्ने लाग्छ भने तपाईंहरु राजनीतिको टिकट लिनुहोस् । वडामा जानुस्, प्रदेशमा, संघमा जानुहोस् तर यहाँ गुट बनाएर लड्ने प्रवृतिको अन्त्य हुनुपर्छ । सक्षम नेतृत्व गर्ने मान्छे मात्रै अगाडि आउनुपर्छ भन्ने हाम्रो भनाई हो ।
उद्योग वाणिज्य संघको यस अघिको चुनावमा पनि यहाँले चुनाव लडि सक्नुभएको छ । त्यसबेला सफल हुनु भएन । यस पटक चुनाव जित्नेमा कतिको आशावादी हुनुहुन्छ ?
यसपालीको चुनाव जित्नेमा ढुक्क छौं । जित हाम्रो ९९ प्रतिशत भइसक्यो । अब फूलमाला लगाउन मात्रै बाँकी छ । यो पटकको चुनाव हाम्रो एजेन्डाले जितिसकेको छ । एजेन्डाले जिन्नु भनेको हामीले जित्नु हो । स्वतन्त्र उम्मेदवार कसैको पनि दबाबमा हुँदैन । व्यवसायीको हकहितका लागि हामी निस्वार्थ भावनाले लागेका छौं ।
हामीलाई काम गर्ने अवसर पनि छ, चुनौती पनि छ । चुनौतीको सामाना हामी काम गरेर रिजल्ट देखाएर गर्छौं । यस अघि पनि हामीले नेतृत्व गरेका कयौं संस्थाहरु सफल भएका छन् । र, यसलाई पनि हामी रियलसलको रुपमा काम गरेर देखाउन चाहन्छौं । पोखरा उद्योग वाणिज्य संघमा हाम्रो कार्यकालमा रिजल्ट देखिने गरि काम गरेर देखाउन हामीले उम्मेदवारी दिएका छौं ।
आफ्ना मतदाताहरुलाई के भन्न चाहनु हुन्छ ?
हामी यो सामाजिक थलोमा समाज सेवाको लागि आएका हौं । हामी व्यापार व्यवसाय उद्योग धन्दा थाती नै राखेर सिस्टममा कारोबार गर्ने व्यवसायी हौं । हामीले आफ्नो कारोबारलाई पनि अगाडि बढाउँदै गर्दा आम उद्योगी व्यवसायीको कहाँतिर साझा समस्या छन् त्यसको समाधान गर्नेछौं । आम व्यवसायीहरुले हामीलाई बुझ्नु भएको छ । त्यसकारण उहाँहरुले हामीलाई भोट दिनु हुन्छ भन्नेमा हामी ढुक्क छौं ।
व्यवसायीहरुले आगामी नेतृत्वका लागि सक्षम नेतृत्व चुन्नु हुन्छ भन्नेमा हामीलाई विश्वास छ । व्यवसायीहरुले रुचाएको उम्मेदवार पनि हो हामी । यो सबै आधारले पनि हाम्रो जित सुनिश्चित छ ।




Comments are closed.