कृषि र पशुपालनको बजेट उत्पादन बढाउन केन्द्रित

त्रिवेणी । नवलपरासी बर्दघाट (सुस्तापूर्व) नवलपुर कृषि र पशुपालनको सम्भाव्यता भएको जिल्ला हो । जिल्लामा कृषि र पशुपालन व्यवसाय गर्नेको संख्या रहेको छ ।

नवलपुरमा संघ, प्रदेश र स्थानीय सरकारका योजनामा समेत कृषि तथा पशुपालनले प्राथमिकता पाउने गरेका छन् । त्यसअनुसार चालु आर्थिक वर्षमा मात्रै कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने संघ र प्रदेश मातहतका कार्यालयले रु १७ करोड बढी बजेट परिचालन गर्दैछन् । जिल्लास्थित कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने कार्यालयले मुख्यतः उत्पादन बढाउने गरी आफ्नो बजेट केन्द्रित गर्ने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुर, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले चालु आर्थिक वर्षमा कृषि र पशुपालन क्षेत्रमा लगानी गर्ने गरी रु १७ करोड २० लाख बजेट विनियोजन गरेका छन् । सोहीअनुसार कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

footwear zone

जिल्लास्थित कार्यालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले रु चार करोड ६२ लाख ८८ हजार, कृषि ज्ञान केन्द्रले रु छ करोड ८४ लाख ४६ हजार र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले रु पाँच करोड ७२ लाख ६९ हजार बजेट यस वर्ष परिचालन गर्दैछन् ।

सरकारले स्वरोजगारमुखी उद्यमलाई प्राथमिकता दिने गरेको छ । त्यसमा पनि कृषि र पशुपालन क्षेत्रमा उत्पादन बढाउन लगानी गर्ने गरेको कार्यालय प्रमुख शर्माले बताए । “कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न उत्पादन नै बढाउनुपर्छ, यसकारण कृषि र पशुपालनमा उत्पादन बढाउने प्रमुख लक्ष्य छ”, कार्यालय प्रमुख शर्माले भने ।

कृषि र पशुपालनमा लाग्ने कृषकलाई कार्यालयले अनुदान सहयोग गर्ने गरेका छन् । आधुनिक यान्त्रिकीकरणमा सहयोग, सिँचाइको व्यवस्थापन, कृषि क्षेत्रको विस्तार, उत्पादन र बजारीकरणका लागि अनुदान सहयोग उपलब्ध गराउने गरेको उनले बताए ।

चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटअनुसार कार्यक्रम सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । आलुखेती विषेश कार्यक्रम, विषेश बाली प्रवद्र्धन, मसला बाली विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, ग्रामीण पोषण सुरक्षण कार्यक्रम, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम, साना व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम, साना सिँचाइ कार्यक्रमलगायतका क्षेत्रमा कृषि ज्ञान केन्द्रबाट कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख लामिछानेले बताए ।

जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशु स्वास्थ्य कार्यक्रम, पशु अनुवांशिक स्रोत केन्द्र स्थापना कार्यक्रम, पशु आहारा प्रवद्र्धन कार्यक्रम, पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, व्यावसायिक गाई, भैँसी फार्ममा थुनेलो परीक्षणलगायतका मुख्य कार्यक्रम यस वर्ष सञ्चालन गर्दै छ ।

कृषि तथा पशुपालनको क्षेत्रमा सरकारले उत्पादन बढाउने गरी विभिन्न प्रकारका अनुदान दिने गर्दा यस व्यवसायतर्फ आकर्षण बढाएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको गत आर्थिक वर्षको उद्योग दर्ताको सङ्ख्याले समेत देखाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका अनुसार गत आवमा जिल्लामा एक हजार ५० नयाँ उद्योग थपिएका छन् । त्यसमध्ये कृषिजन्य उद्योगको सङ्ख्या धेरै रहेको छ । एक हजार ५० नयाँ उद्योगमध्ये कृषिमा आधारित छ सय ३८ वटा नयाँ उद्योग थपिएका छन् ।

You might also like

Comments are closed.