डडेल्धुरा । बेमौसमीरुपमा फल्न लागेको तरकारी रोगका कारण नष्ट हुन थालेपछि डडेल्धुराका किसान निराश बनेका हुन् । पुख्र्यौली पेशा धानमकै जङ्गली जनावरले नष्ट गर्न थालेपछि अजयमेरु– १ मुद्राडका किसान विगत पाँच वर्षदेखि व्यावसायिकरुपमा प्लाष्टिक घर निर्माण गरी तरकारी उत्पादनमा लागेका थिए ।
घरधन्दा चलाउन वर्षायामा प्लाष्टिक घरभित्र गोलभेँडा, काउली, बन्दा, खुर्सानी लगाएका किसान तरकारीमा लागेको रोगका कारण हैरान भएका छन् । “बेच्न समय हुँदै थियो, बजार मूल्य पनि राम्रै छ, तर रोगले गर्दा टमाटरका बोट नै नष्ट हुन थालेकाले केको मुनाफा लिन सकिन्छ र”, अजयमेरु–१ मुद्राडका अगुवा किसान शेरबहादुर भण्डारीले निराश हुँदै बताए । अन्य बाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान तरकारीमा खेतीमा लागेका थिए ।
शेरबहादुर जस्तै दुखेसो जिल्लाका अन्य कृषकको पनि छ। मुद्राड गाउँमा मात्रै ६० भन्दा बढी प्लाष्टिक घर निर्माण गरी तरकारी लगाइएको छ । प्लाष्टिक घरमा गोलभेँडा लगाइएको छ । सबैले लगाएको गोलभेडामा रोगको प्रकोप देखिएको छ । अहिले बजारमा गोलभेडाको मूल्य सय रुपैया प्रतिकिलो रहेको छ । भिन्डी किसानले ५० रुपैया प्रतिकिलो बेचिरहेका छन् । किसानबाट तरकारी व्यापारीले रु ६० देखि ७० सम्ममा गोलभेडा खरिद गर्छन ।

रोग निवारणका लाग कृषकले ज्ञानकेन्द्रबाट पनि प्राविधिक र अन्य कर्मचारीबाट निरीक्षण गराएका छन् । किसानको गुनासो सुनी उपचारका लागि किसानको बारीमा पुगेको कृषि ज्ञानकेन्द्र डडेल्धुराको टोलीले गोलभेडा तथा अन्य तरकारी बालीमा धुलेढुसी र फलको गबारो नामको रोग तथा किराले तरकारी बाली नष्ट गरिरहेको जनाएको छ ।
जिल्लाभर नै गोलभेडा र अन्य तरकारी बालीमा गबारो र धुले ढुसीको समस्या देखापरेको ज्ञान केन्द्रले जनाएको छ। एक मौसममा तरकारीबाट ५० देखि ६० हजार बचत गर्ने अजयमेरु–१ का कृषक कलावती भण्डारी पनि तरकारीमा लागेको रोगका कारण चिन्तित छन् । आफूसँग भएको आठ रोपनी जमिनमा तरकारी लगाएर घरखर्च चलाउनका साथै वार्षिक एक लाखसम्म बचत गरिरहेको उनको भनाइ छ । यस वर्ष फल लाग्ने समयमा नै रागले समाउँदा बीउ पुँजी पनि फर्काउन मुस्किल हुने अगुवा किसान भण्डारीले बताए।
किसानले प्लाष्टिक घरभित्र लगाएका तरकारी र अन्य खेतमा लगाएको तरकारीमा विभिन्न रोगको सङ्क्रमण भएको पाइएको र त्यसको उपचारका लागि केही विषादी र जैविक विषादीको प्रयोग गर्न सल्लाह दिएको कृषि ज्ञानकेन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए। “कृषकलाई रोग नियन्त्रणका लागि प्राविधिक सल्लाह दिएका छौँ, चाँडै रोग नियन्त्रणामा आउनेछ”, प्रमुख भट्टले जनाए।
किसानले तरकारीमा मेहनत गरेका छन् । तर लोभलाग्दो उत्पादन हुँदै गर्दा विभिन्न रोगको प्रकोप बढेकाले समस्या भएको कृषि अधिकृत तारीसिंह ठकुराठीले बताए। तत्काल उपचारका लागि र रोग नियन्त्रण गर्न विषादी प्रयोग गर्ने सल्लाह दिनुपरेको र लगत्तै माटो परीक्षण गरी रोग निवारण गरिने ठकुराठीले जानकारी दिए।
जिल्लाको समैजी, बगरकोट, अजयमेरु, अशिग्राम, पर्शुराम नगरपालिका, अमरगढी नगरपालिकाको पोखरा, भत्काडा, राई तडिवाटालगायतका किसान समूह निर्माण गरी परम्परागत धान र मकै लगाउन छोडी तरकरीखेतीतिर लागेका छन् । बेमौसमी गोलभेडा उत्पादनका लागि प्लाष्टिक घर बनाएर किसान क्रियाशील छन् ।
त्यसैगरी आलु, काउली बन्दा, रायो, भिन्टी, खुर्सानी सिमी जस्ता तरकारीमा पनि रोग देखिएको छ । मौसम परिवर्तन र हावापानीका कारण तरकारीमा सङ्क्रमण दर बढी रहेको छ। गाउँका कृषकले सरकारी र गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् ।




Comments are closed.