तनहुँ डिभिजन वन कार्यालयले विभिन्न स्थानमा पार्क निर्माण गर्दै

डुम्रे । तनहुँ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पार्क निर्माण गर्ने भएको छ ।संघीय सरकारको रु ६० लाख र प्रदेश सरकारको रु २० लाख गरी रु ८० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो ।

उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा पर्यावरण व्यवस्थापनका लागि पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको छ । संघीय सरकारमार्फत विनियोजित बजेटबाट चार वटा पार्क निर्माण गरिने कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।

भानु नगरपालिका–१३ मिर्लुङमा रु २० लाख र बन्दीपुर गाउँपालिकामा रु २० लाखको लागतमा सहिद स्मृति पार्क निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए । शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीस्थित सहिद कृष्ण पार्क संरक्षण तथा व्यवस्थापनका लागि रु १० लाख र ऋषिङ गाउँपालिका–७ स्थित सहिद पार्क निर्माणका लागि रु १० लाख प्राप्त भएको उनले बताए ।

footwear zone

त्यसैगरी , प्रदेश सरकारमार्फत चार वटा पार्क निर्माण गर्न रु २० लाख बजेट विनियोजन भएको छ । म्याग्दे गाउँपालिका–१ टाइगरहिलस्थित बेलडाँडा हरित पार्क निर्माणका निम्ति रु पाँच लाख, भिमाद नगरपालिका-७ स्थित श्रीकृष्ण सहिद हरियाली पार्कलाई रु पाँच लाख, व्यास नगरपालिका-८ स्थित सोतीवेशी सहिद हरियाली पार्कलाई रु पाँच लाख र घिरिङ गाउँपालिका-२ डुम्रीवेशीस्थित सागुमुख हरित पार्कलाई रु पाँच लाख बजेट विनियोजन भएको सहायक अधिकृत श्रेष्ठले उल्लेख गरे ।

“पर्यावरणमा टेवा पुर्‍याउन भनेर बजेट विनियोजन हुन्छ । बजेट विनियोजन भएको स्थानका उपभोक्ता समितिमार्फत पार्क निर्माणको काम गरिन्छ”, उनले भने, “स्थान नै तोकिएर बजेट प्राप्त हुने भएकाले अन्यत्र सार्न मिल्दैन।”

You might also like

Comments are closed.