ग्लोबल आइएमई बैंकको शाखा दक्षिण कोरियामा खुल्ने, नेपाली कामदारलाई सहज

काठमाडौं । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीहरुलाई आग्रहसमेत गरिएको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए । अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरे ।

“मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ। बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईहरुले सहजीकरण गर्नुपर्‍यो,” उनले भने।

footwear zone

द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता पनि रहेको बताउदै उनले कोरियामा रहेका नेपालीहरुलाई मुलुकमा वैदेशिक लगानी र नयाँनयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे ।

कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रकृया अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रक्रिया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे ।

आइएमई समूहले गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा लम्जुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अन्य धेरै परियोजनाहरु पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैर आवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरुमा काम गर्न सकिने बताए ।

उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्विकृति पर्खिरहेको बताए । दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरु नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानीका लागि तयार रहेको बताए ।

कार्यक्रममा अर्थसचिब कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योती प्याकुरेल तथा गैर आवासीय संघका प्रतिनिधिहरुले कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खोल्दा वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज हुने बताए ।

कार्याक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले ग्लोबल आइएमई बैंकले ल्याएको विदेशी मुद्रा खाता, यसको सञ्चालन प्रकृया र यसका फाइदाबारे प्रस्तुतीकरण गरेका थिए ।

You might also like

Comments are closed.