पाक्नै लागेको धान खेती बाढीले नष्ट, किसान चिन्तित

वेदकोट । कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् ।

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उहाँको धान खेतीमा क्षति पु¥यायो ।

खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुवाले सबै पुरिदिएको छ”, उनले भने, “धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपातसमेत बाढीले भिजाएको छ ।”

footwear zone

बाढीले छ महिनाको मेहनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उहाँको गुनासो छ । “धानको बाला लागिरहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे”, उनले भने, “तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।”

उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यानाश भएपछि अब के गर्ने ?”, उनले प्रश्न गरे ।

गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए । “गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो”, उनले भने, “घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टाँगेर बसेका छौँ ।”

लालझाडी गाउँपालिकाको ६ वटै वडामा बाढीले खेतीपातीमा ठूलो क्षति पु¥याएको कृषि शाखाप्रमुख हजमिला लावडले बताए । “बाढीले धान, उखु, बदाम, सखरखण्डलगायतमा ठूलो क्षति पु¥याएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौं”, उनले भने, “पालिकाको आधा खेतीमा क्षति पु¥याएको अनुमान छ ।”

वर्षदिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित छन् । उनले भने, “वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।”

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको उनले बताए । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने ।

दोदा, वनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले बताए ।

“बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरू त बिस्तारै पानी कम हुँदै गएपछि उठ्न सक्ला”, उनले भने, “बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने यकिन विवरण आएको छैन ।” आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उनले बताए ।

You might also like

Comments are closed.