भारतीय दूध आयात रोक्न दुग्ध सहकारीको माग

काठमाडौं । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हितविपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे । आयातित दूधका कारण नेपालमा किसान विस्थापित हुने स्थितिमा पुग्ने उनको भनाइ थियो । उनले भने, “नेपालका दुग्ध उत्पादक सहकारी एवं किसानसँग मोलमोलाई गर्नका लागि बिचौलियको पक्षमा सरकारले निर्णय गर्‍यो ।” अहिले नेपालका दुग्ध उद्योगले किसानलाई तिर्नुपर्ने रकमसमेत नतिरेको बताउँदै उनले अहिलेसम्म नेपालको उत्पादनले पुगेको दूध अहिले नपुग्नुका कारण खोजिनुपर्ने बताए ।

footwear zone

सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उनको भनाइ थियो । सरकारले विसं २०७५ बाट दूध आयातमा रोक लगाएको बताउँदै संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ती सच्चिनुपर्ने बताए ।

नेपालमा माग बढेको भए उत्पादनसमेत बढाउन लाग्नुपर्नेमा विनाआधार आयात गर्न दिनु किसानको हितविपरीत भएको उनको भनाइ थियो । चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषणा भइसकेको भन्दै उनले भारतबाट आयात गरिने दूधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताए । संघका सचिव किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नुपर्ने बताए । आफूहरुले यो विषयमा सरकार र केन्द्रमासमेत जानकारी गराउँदा गराउँदै किसानको हितविपरीत निर्णय गरिएको बताए ।

चितवनमा दुधालु गाईभैँसी ६८ हजार छ सय ११ वटा रहेको र दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको उनले जानकारी दिए । यसमध्ये ४५ प्रतिशत दूध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको संघले जनाएको छ ।

You might also like

Comments are closed.