काठमाडौं । ‘नाडा इभि एक्स्पो’ सुरु भएको छ । नेपालमै पहिलोपटक इलेक्ट्रिक गाडी तथा टु–ह्विलर बिक्री, प्रदर्शनी एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि भृकुटी मण्डप, प्रदर्शनी हलमा एक्स्पो सुरु भएको हो । एक्स्पोको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको एक्स्पो असोज ९ गतेसम्म चल्ने अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए ।
विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले यसले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ । सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहदाँ १०० किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको उनले बताए ।
‘सरकारले १०० किलोवाट माथीका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले अर्थमन्त्रीलाई इंगित गर्दै भने, ‘नेपालको भौगलिक अवस्थाअनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु ।’
सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसको लागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ । अध्यक्ष थापाले सरकारले स्थिर नीति लिए व्यवसायी पार्टपुर्जाको उद्योगसमेत खोल्न तयार रहेको बताए।

नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिनादेखि अटो व्यवसायी मारमा परहेको जानकारी गराएका छन् । कार, जिप, भ्यान र १५० सिसि माथिका मोटरसाइकल आयात खुल्ला गर्नउनले अर्थमन्त्रीसंग माग गरेका थिए ।

एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले अब पेट्रोलका सवारीलाई विस्थापित गर्दै इलेक्ट्रिक सवारीलाई विस्तार गर्दै जानुपर्ने बताए । साथै इभिको विस्तारका लागि सरकारले व्यवसायीलाई सहयोग गर्ने पनि बताए । अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन् ।
‘विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दै आएका छौं । त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं।’ अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए । अर्थमन्त्री शर्माले सवारी प्रतिबन्ध लामो समय नरहने बताए । उनले अर्थतन्त्र शुधार तर्फ गइरहेको बताउँदै निर्यात वृद्धि गरि आयात खोल्नु पर्ने उल्लेख गरे ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताएका छन् । अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे । वातावरण संरक्षण गर्नको लागि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने धारण व्यक्त गरे ।

त्यस्तै, नाडाका उपाध्यक्ष सुवास आचार्यले इभि एक्स्पोले विद्युतिय सवारी सधानको प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । उनले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ईभी एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन् । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् ।
नाडाले १९९८ देखि नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलोपटक भएको हो । गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ । अग्नी ग्रुपको ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ ।
दुई पांग्रे ब्रान्ड रहेका छन् । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्सलगायतका ब्रान्ड रहेका छन् । चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था पनि गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणका लागि २०० रूपैयाँ व्यवस्था गरेको छ ।
सिएटद्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पूर्जा, वित्तीय सेवा उपलब्ध रहेका छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरीरहेको छ । नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आंकलन गरिएको छ । नेपाली चाड–पर्वहरुको पूर्वाधारमा आयोजना भएको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ ।
नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिन ईभी चौतारी समेतको आयोजना गर्दैछ । शुक्रबारको गोष्ठीमा प्रविधि र ईभीको सिस्टमको विषयमा छलफल हुँदैछ । जसमा वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल रहने छन् भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धान कर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सिईओ अभिशेक कार्की, सिप्रदिका दिनेश पौडेल र नेपाल विद्युत प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन् ।
युएसएआइडी क्लिन एयरको सहयोगमा भईरहेको ईभी चौतारीमा भुषण तुलाधर मोडरेट रहेका छन् । नाडाको पहलमा आजबाट प्रदर्शनी स्थल भृकुटी मण्डपमा रक्तदानको कार्यक्रम समेत सञ्चालन हुँदैछ ।




Comments are closed.