दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्ने गर्छिन् । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छन् । वृद्ध अवस्थामा पनि उहाँको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उनले बताइन् ।
“पानी पर्यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।” उनले भनिन्, “मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट दैनिक पाँच सय जति आम्दानी हुन्छ ।” दोधारा चाँदनीबाट प्रतिकेजी रु ४० मा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताइन् । “पोलेको मकै एउटा रु २५ मा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।” उनले भनिन्,“मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ । ”
विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उनी एकल हुन् । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । “एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।” उनले भनिन्,“अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।” धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आएकी छन् ।

“छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,” उनले भनिन्, “अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।” छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताइन् । “जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,” उनले भनिन्,“दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।” सानै उमेरमा बिहे गरेकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताइन् ।
“अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।” उनले भनिन्,“सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।” जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताइन् ।
उनी जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहेका छन् । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आएका छन् । “अन्य रोजगारी केही छैन पोलेको कमै बेचेर जीवनयापन गरिरहेका छौं ।” उनले भनिन् ।
“खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।” पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताइन् । “बुढाबुढी दुबैको कमाइ दिनको रु एक हजार ५०० जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।” उनले भनिन्,“छोराछारीको स्कुल खर्च पनि यसैबाट चलेको छ ।” महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ ।




Comments are closed.