काठमाडौं । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा स्क्रबटाइफसको सङ्क्रमणका कारण पर्वत अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ ।
सामान्य अवस्थामा दैनिक ६० देखि ८० जना बिरामी आउने गरेको पर्वत अस्पतालमा अहिले दैनिक दुई सयभन्दा बढीको सङ्ख्यामा बिरामी परीक्षणका लागि आउने गरेका छन् । अस्पतालको ‘ओपिडी’ विभागमा आएर स्वास्थ्य परीक्षण गराउने तथा भर्ना भएर उपचार गर्नेको सङ्ख्या उच्च रहेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिए ।
उनका अनुसार मौसम परिवर्तनको बेलामा धेरैलाई प्रभावित बनाउने ‘भाइरल फिवर’ र लामखुट्टेको टोकाइबाट हुने ‘डेङ्गु’ को लक्षण एकै प्रकारको रहेका कारण पनि ‘डेङ्गु’ को आशंकामा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको चाप बढेको हो । सूचना अधिकारी उपाध्यायका अनुसार हालसम्म पर्वत अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएकामध्ये हालसम्म २५ जनामा ‘डेङ्गु’ को सङ्क्रमण भएको पुष्टि भएको छ ।

गत साउनको पहिलो हप्तामा कुश्मा नगरपालिकाका दुई युवामा ‘डेङ्गु’ को सङ्क्रमण रहेको पुष्टि भएको थियो । तीन महिनाको अवधिमा पर्वत अस्पतालमा मात्रै उक्त सङ्ख्या ‘डेङ्गु’ का बिरामी बढेको र यस्तै अवस्था जिल्लाका अन्य ठाउँमा पनि रहेको हुन् सक्ने उपाध्यायको भनाइ छ ।
“साउनको पहिलो हप्तामा दुई जनामा देखिँदा नागरिकमा जति डर थियो अहिले २५ जना पुग्दा पनि डराएको पाइँदैन । लामखुट्टेबाट जोगिनका लागि जेजे गर्नुपर्ने भनिएको छ, त्यो गरिएको पाइएको छैन”, उनले भने ।
‘डेङ्गु’ सङ्क्रमण भएका बिरामीमध्येका धेरैजसो हिँडडुल नगरी एकै ठाउँमा बसिरहने कर्मचारी तथा व्यवसायी रहेका छन् । दिउँसोको समयमा टोक्ने लामखुट्टेबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने भनिएका मापदण्ड पालना नगर्दा कार्यालयमा बसेर सेवा दिनेहरू बढी प्रभावित भएका छन् ।
यही बेलामा मौसम परिवर्तनको बेला भएकाले ‘भाइरल फिवर’ का बिरामीको सङ्ख्या पनि तीव्र बढिरहेको छ । पर्वत अस्पतालको तथ्यांक अनुसार अहिले दैनिक करिब दुई सय जनाको ओपिडीमा स्वास्थ्य परीक्षण हुने गरेको छ ।
‘डेङ्गु’ र ‘भाइरल फिवर’ को लक्षण एकै प्रकारको हुने भएका कारण परीक्षणका लागि आएका धेरैले डेङ्गुको शंका गरे पनि उनीहरू ‘भाइरल फिवर’ का बिरामी रहेको उपाध्यायले बताए ।
पर्वत अस्पतालका अनुसार स्वास्थ्य परीक्षणका लागि आएका एकजना बिरामीमा ‘स्क्रब टाइफस’ को पनि पुष्टि भएको छ । ‘स्क्रब टाइफस’ ‘ओरिन्सिया सुसुगामासी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ । यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ‘चिगर माइट’ किर्नोले सार्ने गर्दछ । ‘स्क्रब टाइफस’ हुँदा उच्च ज्वरो आउने, असाध्य टाउको दुख्ने, आँखाको सेतो भाग रातो देखिने, कानमा कृत्रिम आवाज सुन्निने, सास फेर्दा असहज महसुस हुने, शरीरमा बिबिरा देखिने, पसिना आउनेलगायतका लक्षण देखा पर्ने चिकित्सकले बताएका छन् ।




Comments are closed.