प्रेम पुनथोकी, काठमाडौँ । सार्क सदस्य राष्ट्र श्रीलङ्कामा चरम आर्थिक सङ्कट आएसँगै नेपाल पनि त्यही बाटोमा जाने हो कि भन्ने त्रास विद्यमान छ । श्रीलङ्कामा आर्थिक सङ्कट आउनुमा वैदेशिक ऋण, आयात, निर्यात लगायत आन्तरिक कारण छन्, जसमा पनि विदेशी मुद्रा सञ्चितिको अवस्था महत्वपूर्ण कारण मानिएको छ ।
अर्थतन्त्र सुधारको लागि विदेशी मुद्रा सञ्चिति बढाउन आवश्यक ठानेरै सरकारले केही विलासी बस्तुको आयातमा नियन्त्रण ग¥यो । तथापि गत आर्थिक वर्षमा आयातको तथ्याङ्क अहिलेसम्मकै उच्च छ । आर्थिक वर्ष २०७७/०७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको आयात भएको मा आर्थिक वर्ष ०७८/७९ मा आयात २४.७२ प्रतिशतले बढेर १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
यो अवधिमा निर्यात पनि बढी नै देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजारको निर्यात व्यापार भएकोमा ०७८/०७९ मा निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा व्यापार घाटा २३ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण लामो समय आयात निर्यातमा रोक लगाएको कारण आर्थिक वर्ष ०७७/०७८ को आयात निर्यातको अवस्था कम देखिन्छ तथापि कोरोना महामारीमा सहजता आएसँगै व्यापार सुधारतर्फ गएको देखिन्छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा आयात, निर्यात दुबै बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा १२ खर्ब ४५ अर्ब १० करोड ३२ लाख रुपैयाँको आयात रहेकोमा आर्थिक वर्ष ०७८/०७९ मा आउँदा यो तथ्याङ्क १९ खर्ब २० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा ८१ अर्ब ३६ करोड रुपैयाँको निर्यात व्यापार रहेकोमा बढेर ०७८/०७९ मा पुग्दा दुई खर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
कोरोना महामारी आयात, निर्यातमा गरिएको कडाईका कारण आर्थिक वर्ष ०७६÷०७७ मा व्यापार सुस्तायो । यो अवधिमा ५ वर्षको अवधिकै सबैभन्दा कम आयात भएर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ पुग्यो । कोरोना महामारीको धङधङीबीचमै रहेको आर्थिक वर्ष ०७७/०७८ को व्यापार केही सुधारिएर झण्डै १५ खर्ब ४० अर्ब रुपैयाँको आयात र १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको निर्यात व्यापार भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
पेट्रोलियम पदार्थ धेरै आयात
गत आर्थिक वर्षमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । जसमा डिजेल सबैभन्दा बढी १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६७ हजार छ । त्यस्तै पेट्रोल ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँ र एलपी ग्याँस ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको आयात भयो ।
सोयाविन तेलको कच्चा पदार्थ ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँ र फलाम तथा स्टिलका कच्चा पदार्थ ५१ अर्ब २९ करोड ५६ लाख ७० हजार रुपैयाँको आयात भयो । यो अवधिमा ३८ अर्ब ६ करोड ६९ लाख ८६ हजार रुपैयाँको टेलिकमका सामाग्री, ३५ अर्ब ९५ करोड ८८ लाख ५७ हजार रुपैयाँको कोइला, ३५ अर्ब ६१ करोड ९५ लाख २३ हजार रुपैयाँको सुन र ३२ अर्ब ८ करोड ८५ लाख ५८ हजार रुपैयाँको भ्याक्सिन आयात भएको छ ।
सबैभन्दा व्यस्त नाका वीरगञ्ज, डेढ दर्जन भन्सारमा नगन्य कारोवार
सबैभन्दा बढी आयात वीरगञ्ज भन्सार मार्फत भएको देखिन्छ । वीरगञ्ज भन्सार हुँदै जम्मा आयातको झण्डै ३७ प्रतिशत अर्थात ७ खर्ब ६ अर्ब ३८ करोड ७९ लाख ६७ हजार रुपैयाँको आयात भएको छ ।
त्यस्तै भैरहवा भन्सार नाका हुँदै १५ प्रतिशत अर्थात २ खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार रुपैयाँ, सुख्खा बन्दरगाहा हुँदै ११ प्रतिशत भन्दा बढी अर्थात २ खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजार र विराटनगर भन्सार हुँदै ११ प्रतिशत अर्थात २ खर्ब १२ अर्ब ९६ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको आयात भएको छ । यो अवधिमा अन्तराष्ट्रिय विमानस्थल हुँदै ११ प्रतिशत अर्थात दुई खर्ब १० अर्ब ५९ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
आयात गरिने भन्सार २६ भन्सारमध्ये १६ भन्सार नाका मार्फत १ प्रतिशत भन्दा कम त्यसमा धेरै नाकाबाट नगन्य परिमाणमा आयात भएको तथ्याङ्क छ ।
उच्च पेट्रोलियम पदार्थ, सुन सस्तियो
सबै भन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थको मूल्य आकासिँदा यसले समग्र व्यापारमा ठूलो प्रभाव देखिएको छ । आर्थिक वर्ष ०७७/०७८ र ०७८/०७९ को पेट्रोलियम पदार्थ खरिदको अवस्था सामान्य फरक भए पनि रकम दोब्बरको अवस्थामा रहेको भन्सार विभागको तथ्याङ्क छ ।
आर्थिक वर्ष ०७७/७८ को १२ महिनामा कुल आयातको १० दशमलव १६ प्रतिशत अर्थात १ खर्ब ५६ अर्ब ८३ करोड ५० लाख रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएकोमा गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसको कुल आयातमा योगदान झण्डै १६ प्रतिशत हुन आउँछ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७८ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७४ दशमलव ५३ रहेको कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०७९ असार मसान्तमा ५० दशमलव ६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ सय १२ दशमलव २६ पुगेकोछ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७८ असार मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १८ सय २३ दशमलव ७५ रहेकोमा २०७९ असार मसान्तमा ६ दशमलव ४ प्रतिशतले कमी आई अमेरिकी डलर १७ सय ६ दशमलव १५ कायम भएको छ । मूल्यमा सामान्य गिरावट भएपनि खरिद भने गत आर्थिक वर्षमा उच्च देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २७ अर्ब ३५ करोड रुपैयाँको ३ हजार ९ सय २४ किलो सुन आयात भएकोमा आर्थिक वर्ष ०७८/०७९ मा ११ सय २८ किलोले बढेर ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको सुन आयात भएको छ ।
डलरमा अवमूल्यन
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६ दशमलव ६४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ १ दशमलव १ प्रतिशतले अधिमूल्यन भएको थियो ।
२०७९ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय २७ दशमलव ५१ रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर १ सय १९ दशमलव ०४ रुपैयाँ रहेको थियो ।
३० देशसँग नेपालको व्यापार नाफा
गत वर्ष व्यापारिक कारोबार भएका १ सय ७१ देश मध्ये ३० देशसँग व्यापार नाफा देखिन्छ । कम्बोडिया, अल्जेरिया, नाइगर, गुइनिया, न्यु क्यालेडोनिया, जाम्बिया, क्रोसिया, फिजि, अजरबैजान, बर्मुडा, माल्टा, मोनाको, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिका रिपब्लिक, कंगो, मोरक्को, घाना, सेरालियन लगायत मुलुकसँग नेपालको नाफाको व्यापार देखिन्छ । सार्कका माल्दिभ्स, अफगानिस्तानसँग मात्र नाफाको व्यापार रहेको देखिन्छ ।
निर्यात र आयात सबैभन्दा भारतबाट भएको छ । भारतबाट १२ खर्ब १५ करोड २७ लाख रुपैया बराबरको आयात भएको छ । आयातको तथ्याङ्कलाई हेर्दा यो ६२ दशमलव ५ प्रतिशत हुन आउँछ ।
भारत पछि आयात निर्यातमा दोस्रो ठूलो मुलुकको रुपमा चीन रहेको छ । गत आर्थिक वर्षमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन कुल आयातको १३ दशमलव ८ प्रतिशत हो । यो अवधिमा इण्डोनेशीयाबाट ५३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ, अमेरिकाबाट ५० अर्ब ५ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्सबाट ४८ अर्ब रुपैयाँ, अर्जेन्टिना ४० अर्ब रुपैयाँ, अष्ट्रेलियाबाट साढे २४ अर्ब रुपैयाँ, युक्रेनबाट २१ अर्ब २३ करोड रुपैयाँ , मलेसिया १७ अर्ब र ब्राजिलबाट साढे १२ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

निर्यातको अवस्था हेर्दा ७८ प्रतिशत अथवा १ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ बराबरको निर्यात भारतमा भएको देखिन्छ । भारत पछि सबै भन्दा बढी निर्यात अमेरिकामा ९ प्रतिशत अथवा १८ अर्ब रुपैयाँको छ । अमेरिका पछि जर्मनीमा ४ अर्ब रुपैयाँ भन्दा बढी, टर्कीमा पौने ४ अर्ब रुपैयाँ, बेलायतमा ३ अर्ब भन्दा बढीको निकासी देखिन्छ । फ्रान्स, अष्ट्रेलिया, इटाली, क्यानडा र जापानमा सामान्य निर्यात देखिन्छ ।
आयात गरिएको सोयाविन र पामले धानेको निर्यातको इज्जत
गत आर्थिक वर्षमा सबैभन्दा धेरै सोयाविन तेल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ४८ अर्ब १२ करोड चार लाख रुपैयाँको सोयाविन तेल निर्यात भएको छ तर यसको आयात नै निर्यात भन्दा बढी देखिन्छ । यो अवधिमा तेल र कच्चा पदार्थ गरेर ५६ अर्ब २५ करोड ६८ लाख रुपैयाँ भन्दा बढी सोयाविनको आयात भएको छ ।
त्यस्तै अवस्था पाम आयलको पनि छ । यो अवधिमा सोयाविन तेल पछि धेरै निर्यात भएको पाम आयल ४० अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको आयात देखिन्छ जबकी निर्यात थोरै बढी अर्थात ४१ अर्ब ६ करोड ५० लाख रुपैयाँ बराबरको निर्यात छ ।
यो अवधिमा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँको कार्पेट तथा टेक्सटायल, ५ अर्ब ६६ करोड ५० लाखको ओभन फेब्रिक्स, ४ अर्ब ८१ करोड ५० लाख रुपैयाँको अलैंची, ४ अर्ब ६९ करोडको उनका सामाग्री निर्यात भएको छ ।
कम हुँदै चामलको आयात
कृषि प्रधान मुलुक भएर पनि खाद्यान्नको आयातको कुराले जहिले पनि चर्चा बटुल्दै आएको पाइन्छ । त्यसमा पनि मुलुकको प्रमुख खाद्यान्न बाली धान तथा चामलको आयात उच्च हुनु सबैको चासो र चिन्ताको विषय पनि हो । तथापि पछिल्ला वर्षहरुको तथ्याङ्क हेर्दा चामलको आयात कम भएको तथ्याङ्कले देखाउँछ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा ७ लाख ४३ हजार ३ सय ८९ टन चामल आयात भएकोमा आर्थिक वर्ष ०७८/०७९ मा यो तथ्याङ्क ५ लाख ८४ हजार २९ टन आयात भएको छ । त्यसबीचमा आर्थिक वर्ष ०७५/०७६ मा ७ लाख ६९ हजार ५ सय ६७ टन, आर्थिक वर्ष ०७६/०७७ मा ७ लाख ३३ हजार एक सय टन र आर्थिक वर्ष ०७७÷०७८ मा ६ लाख ८१ हजार ५ सय ८७ टन धान तथा चामल आयात भएको छ ।




Comments are closed.